logo
२०८१ जेष्ठ २ बुधवार



अध्यापन अनुमतिपत्रको उत्तरपुस्तिका परीक्षण कम्प्युटरबाट

राजनीति |


अध्यापन अनुमतिपत्रको  उत्तरपुस्तिका परीक्षण कम्प्युटरबाट



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ५ गते । स्थायी अध्यापन अनुमतिपत्रको वस्तुगत परीक्षाको उत्तरपुस्तिका कम्प्युटर प्रणालीबाट परीक्षण गरिने भएको छ । शिक्षक सेवा आयोगले सञ्चालन गर्ने लिखित परीक्षाको ४० अङ्क वस्तुगत रहने व्यवस्था छ ।
विगतमा परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्ने गरेकोमा अब अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनले परीक्षण गर्नेछ । अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा विषयगत प्रश्नहरू वस्तुगत रहनेछ ।
आयोगका सूचना अधिकारी दामोदर आचार्यले ओएमआर मेसिनबाट उत्तरपुस्तिका परीक्षण गराउँदा खर्च कम लाग्नुका साथै कम समयमै नतिजा निकाल्न सकिने बताउनुभयो । उत्तरपुस्तिकामा दिइएका मध्ये सही उत्तरमा कालो रङको मसीले गोलो पोत्नुपर्ने हुन्छ । त्यसका आधारमा मेसिनले स्क्यान गरी कम्प्युटर सफ्टवेयरबाट प्राप्ताङ्कका बारेमा जानकारी दिन्छ ।
स्थायी अध्यापन अनुमतिपत्रको प्राथमिक तहको परीक्षा आगामी असोज ९, माध्यमिक तहको असोज १० र निम्न माध्यमिक तहको असोज ११ गते हुँदैछ । यस पटकबाट परीक्षार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्थाको थालनीसमेत गरिएको थियो ।
स्थायी अध्यापन अनुमतिपत्रको उत्तीर्णाङ्क ५० प्रतिशत छ । लाइसेन्स परीक्षाका लागि दुई लाख ८२ हजार जनाले आवेदन दिएका छन् । तीमध्ये कतिपयले दुईवटा तहमा पनि आवेदन दिएको हुनसक्ने अनुमान छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?