logo
२०८१ जेष्ठ २ बुधवार



हुरीपीडितको घर निर्माण अन्तिम चरणमा

राजनीति |


हुरीपीडितको घर निर्माण अन्तिम चरणमा


भउचप्रसाद यादव

काठमाडौँ, भदौ ७ गते । गत चैत १७ मा गएको विनाशकारी हुरी र असिनापानीका कारण घरबारविहीन भएका बारा र पर्सावासी अझै त्रिपालमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य छन् । साउन १५ गतेभित्र पीडितलाई घर हस्तान्तरण गर्ने योजनासहित नेपाली सेनाले सुरु गरेको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।
घर निर्माणमा ढिलाइ हुँदा त्रिपालमुनि बसेका हुरीपीडित गर्मी र वर्षाको सास्ती भोग्न बाध्य छन् । त्यसैगरी, बास त्रिपालमुनि र बाहिर वर्षाका कारण खान पकाउन नमिलेका कारण पीडितहरू भोकभोकै बस्न बाध्य छन् ।
वर्षा सुरु हुनुअघि नै पीडितलाई घर हस्तान्तरण गर्न वैशाख २१ गते उपप्रधानमन्त्रीद्वय, प्रदेश २ का मुख्यमन्त्री र आठ जनामन्त्रीले बारा र पर्साको १२ ठाउँबाट एकै साथ हुरीपीडितको घर निर्माणको शिलान्यास गर्नुभएको थियो । चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले बारा र पर्साका हुरीपीडितलाई वर्षा सुुरु हुनुअघि नै घर बनाइदिने र सो निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । जनता आवास कार्यक्रमको मोडेलमा घरहरू निर्माण गर्ने निर्णय सरकारले गरेको थियो ।
हुरीपीडितका घर निर्माणमा ढिलाइ भएकोेबारे नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अविरल वर्षा र बाढीका कारण घर निर्माण कार्य निर्धारित समयमा सम्पन्न हुन नसकेको बताउनुभयो । त्यसैगरी, निर्माण सामग्री खरिद प्रक्रिया लम्बिएको र बाहिरबाट जनशक्ति लिनुपर्ने भएकाले निर्माण कार्य निर्धारित समयभन्दा केही ढिलो हुन पुगेको उहाँले स्पष्ट पार्नुभयो । प्रवक्ता पाण्डेले भन्नुभयो, “पुनर्निर्माण, पुनस्र्थापना सहजीकरण र समन्वय समितिको बैठकले पूर्व योजनाअनुसार साउन २६ गतेभित्र घर निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोमा बाढी तथा डुबानका कारण नौ दिन काम स्थगित भएकाले समय अभाव हुने देखिएको हुँदा भदौको दोस्रो सातासम्म लाग्ने सम्बन्धमा सम्बन्धित सम्पूर्ण निकायमा जानकारी गराइसकिएको छ ।”
घर निर्माणको ९४ दशमलव ९८ प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै उहाँले भदौको दोस्रो सातासम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभयो । घर निर्माणका लागि नेपाली सेनाको १२ वटा टोली परिचालन भएको र सेनाका २६ सय जवान खटिएको प्रवक्ता पाण्डेले बताउनुभयो ।
बारा र पर्सामा गरी जम्मा ८६९ घर निर्माण भइरहेकोमा ५१८ वटा घरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको र बाँकीको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी प्रवक्ता पाण्डेले दिनुभयो । निर्धारित ८६९ मध्ये पारिवारिक जग्गा विवादका कारण १२ वटा घर निर्माण सुरु हुन नसकेको समेत उहाँले बताउनुभयो । प्रवक्ता पाण्डेका अनुसार, निर्माणाधीन घरहरूको जग खन्ने, जग लगाउने, छानासम्म पर्खाल लगाउने र झ्यालढोकाको ‘फ्रेम’ लगाउने काम सकिएको छ । त्यसैगरी छानाको ट्रस लगाउने काम शत प्रतिशत, छाना छाउन्ने काम ९९.५ प्रतिशत र प्लम्बिङ, वायरिङ तथा रङ लगाउने काम ८७ प्रतिशत सम्पन्न भइसकेको छ । मूल्यअभिवृद्धि करसहित प्रतिघर पाँच लाख ४५ हजार रुपियाँ लागत रहेको छ । घरमा दुई कोठा, एउटा बरन्डा र एउटा शौचालय छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?