logo
२०८१ मंसिर ६ बिहीवार



उपत्यकामा डेङ्गुको खतरा

राजनीति |


उपत्यकामा डेङ्गुको खतरा


सरोज ढुङ्गेल

काठमाडौँ, भदौ ८ गते । तराईका जिल्लामात्र होइन काठमाडौँ उपत्यकामासमेत डेङ्गु सङ्क्रमण प्रकोपको रूपमा देखा पर्ने खतरा बढेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा मात्र ५९ जना व्यक्तिमा डेङ्गु सङ्क्रमित बिरामी भेटिएको पुष्टि गरेपछि थप खतरा बढेको हो ।
महाशाखाका प्रमुख डा. विवेककुमार लालले विगतमा पनि काठमाडौँमा डेङ्गु सङ्क्रमित बिरामी भेटिएको तर यो वर्ष सङ्ख्या निक्कै बढेको बताउनुभयो । महाशाखा प्रमुख लालले सरकारी र निजी गरी विभिन्न १० वटा अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामी रहेको बताउनुभयो । उहाँका अनुसार रोग नियन्त्रण महाशाखामा मात्र ५९ जना सङ्क्रमित बिरामी रहेका छन् ।
महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम प्याकुरेलले बानेश्वर, ताहचल, बालाजु, त्रिपुरेश्वर, टेकूलगायतका क्षेत्रमा बस्ने व्यक्तिलाई डेङ्गुको सङ्क्रमण भएको जानकारी दिनुभयो । हालसम्म पूर्वी नेपालमा फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने भन्दै उहाँले काठमाडौँ उपत्यका पनि डेङ्गुको उच्च जोखिममा रहेको बताउनुभयो ।
महाशाखा प्रमुख डा. लालका अनुसार काठमाडौँ उपत्यका तथा अन्य स्थानमा डेङ्गु सार्ने लामखुट्टेको प्रजाति भेटिएका छन् । गतवर्ष यही समयमा उपत्यकामा मात्रै १६ जनालाई डेङ्गु देखिएको थियो भने देशभर ८११ जना सङ्क्रमित भएका थिए । डेङ्गुबाट विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस बढी पीडित हुने गरेका छन् ।
डा. लालले डेङ्गु सङ्क्रमित लामखुट्टेले पाँच मिलिग्राम मात्र सफा पानी पायो भने अन्य लाखौँ लार्भा उत्पादन गर्नसक्ने भन्दै काठमाडौँमा सफा पानी हुने सङ्ख्या धेरै रहेको जानकारी दिनुभयो । घरमा राखेको पानी, घर वरिपरि खाल्डामा रहेको सफा पानीमा समेत डेङ्गु सङ्क्रमण गर्ने लार्भा रहेको जानकारी दिँदै उहाँले डेङ्गु सार्ने लामखुट्टेबाट बच्न सुझाव दिनुभयो ।
डेङ्गुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो । डा. लालका अनुसार ज्वरो पाँच देखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । डेङ्गु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहँुदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक÷दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?