काठमाडौँ । मङ्सिर ३ गते । नेकपा (क्रान्तिकारी माओवादी)ले पक्राउ परेका पार्टीका कार्यकर्ता रिहा गर्न माग गरेको छ ।
दक्षिण तथा मध्य एसियाको मामला हेर्ने अमेरिकी राज्य सहायक मन्त्री डोनाल्ड लुको नेपाल भ्रमण र एमसीसी परियोजनाको विरोध गर्न अमेरिकी दूतावास अगाडि पुगेका कार्यकर्ता पक्राउ परेको प्रति आपत्ति जनाउँदै माओवादी क्रान्तिकारीले रिहा गर्न माग गरेको हो ।
पार्टी महासचिव मोहन वैद्य ‘किरण’ले विज्ञप्ति सार्वजनिक गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा गर्न माग गर्नुभएकाे हाे । विरोधमा सहभागी भएका क्रान्तिकारी माओवादीका अमीर महर्जन, खगेन्द छन्त्याल, टेकबहादुर विक, जगदीश्वर महर्जन, राधाकृष्ण थापा, शोभा विक, हरि विक, शंकर बोहरा, शंशेर विक पक्राउ पर्नुभएकाे छ ।
महासचिव वैद्यले विज्ञप्तिमा एमसीसीको विरोधमा प्रदर्शन गर्ने कार्यकर्तामाथि भएको दमन र गिरफ्तारीको निन्दा गर्नुभएकाे छ ।