काठमाडौं, मङ्सिर २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति आम जनताको दृष्टिले हेर्दा लिक बाहिर गएको बताउनुभएको छ ।
शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशन समारोहमा शुभकामना मन्तव्य दिनेक्रममा उहाँले यस्तो बतउनुभएको हो । अध्यक्ष लिङ्देनले संसद संसदजस्तो नभएको र अदालत अदालतजस्तो नभएको उल्लेख गर्नुभयो ।
देशको राजनीति आम जनताको दृष्टिबाट हेर्दा लिक बाहिर गएको छ’, अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबैलाई ठिक लगाउने कसले ? यो सबलाई ठिक लगाउने राजनीति । तर, राजनीतिक पनि ठिक छैन ।’
अध्यक्ष लिङ्देनले राजनीति ठिक लगाउने नेतामाथि विश्वास नभएको उल्लेख गर्नुभयो । राजनीतिलाई कसलाई ठिक लागउने ? नेताले’, उहाँले थप भन्नुभयो, ‘तर नेताका प्रति जनताको विश्वास मरेको अवस्था छ ।’
गाउँघरमा नेतालाई चोर भन्ने गरेको भन्दै उहाँले राजनीतिलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । संवैधानिक राजतन्त्र, हिन्दू राज्य र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई लागू गर्न उहाँले सबैलाई आग्रहसमेत गर्नुभएको छ । महाधिवेशनलाई वैधानिकता पूरा गर्ने कुरामा सीमित नराखेर नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा लिन उहाँले आग्रह गर्नुभएको छ ।
‘महाधिवेशन एउटा वैधानिकता पूरा गर्ने कुरामा मात्र सीमित नहोस् । नेतृत्वको छवि सुधार्ने अवसरका रुपमा उपयोग गरौँ’, उहाँले भन्नुभयो, ‘ कांग्रेसको महाधिवेशन पूर्ण रुपमा सफल बनोस् ।’