logo
२०८१ बैशाख २२ शनिवार



प्रकाशमान सिंहको काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता

राजनीति |


प्रकाशमान सिंहको काँग्रेस  सभापतिमा उम्मेदवारी दर्ता
तस्बिर केशब गुरुङ्ग


काठमाडौँ, मङ्सिर २५ गते । नेपाली काँग्रेसको सभापतिमा नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गर्नुभएको छ । शनिबार नेता सिंहले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो । सिंहको समूहबाट उपसभापतिमा सुजाता कोइरालाले मनोनयन दर्ता गर्नुभएको छ । राजधानीमा शनिबार विशेष कार्यक्रम गर्दै सिंहले उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

नेता सिंहले उम्मेदवारी दर्ता गर्नुअघि अयोजित कार्यक्रममा अवधारणा पत्रसमेत सार्वजनिक गर्नुभएको छ । सिंहले पार्टीलाई विधिमा सञ्चालन गर्नका निम्ति आफूले उम्मेदवारी दर्ता गरेको बताउनुभएको छ । सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गर्नुभएकी नेतृ कोइरालाले काँग्रेसको अनुहार फेर्ने क्षमता प्रकाशमान सिंहसँगमात्र भएको बताउनुभएको छ ।

‘मैले फर्किएर हेरेँ, म आफैँ पनि सभापतिको आकांक्षी हुँ । यत्ति धेरै उम्मेदवारमध्ये पार्टीको अनुहार फेर्ने क्षमता प्रकाशमानजीमा देखेँ’, कोइरालाले भन्नुभयो, ‘उहाँले महिलाको नेतृत्व स्वीकार गरेर उपसभापतिको स्थान दिनुभयो । त्यसका लागि म उहाँलाई धन्यवाद दिन्छु।’

कोइरालाले देशभरका नेपाली काँग्रेसका साथीहरुले भोट हालेर अत्याधिक मतले जिताउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । ‘एक पटक नयाँ नेतृत्व हेरौँ’, कोइरालाले भन्नुभयो, ‘आम जनताले काँग्रेस बुढो भइसक्यो भन्ने कुराको अन्त्य गर्न हामी अगाडि बढेका हौँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?