काठमाडौं, मङ्सिर २५ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि काँग्रेसका नेता गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसअघि महामन्त्री पदमा नेताद्वय डा. मीनेन्द्र रिजाल र विश्वप्रकाश शर्माले पनि उम्मेदवारी दर्ता गराउनुभएको हो ।
महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा जारी छ ।
त्यस्तै, सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ, बिमलेन्द्र निधि र युवराज न्यौपानेले मनोनयन दर्ता गराउनुभएको थियो ।
शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो । निर्वाचन समितिको कार्यतालिका अनुरुप उम्मेदवारी दर्ता भइराखेको छ ।
काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहदुर देउवालेसमेत पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने तयारी गर्नुभएको छ ।