काठमाडौँ, मङ्सिर २९ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।
बुधबार वरिष्ठ नेता पौडेलले सभापति पदमा निर्वाचित देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।
नेता पौडेलको बधाई सन्देशमा सबैलाई समेटेर सशक्त र एकताबद्ध काँग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
‘एकातिर सात दशक लामो सङ्घर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भैसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन्’, सन्देशमा भनिएको छ, ‘यी दुबै सङ्कटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली काँग्रेस आजको आवश्यकता हो ।'