काठमाडौँ, पुस ४ गते । आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।
सङ्घीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
सर्वदलीय बैठक अघि प्रधानमन्त्री देउवाले संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत नेतासँग छलफल गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री देउवाले प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्दै आएको संसद् कसरी खुलाउने भन्ने विषयमा सर्वदलीय बैठकमा आइतबार छलफल गर्न लाग्नुभएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतलाई बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले भने बैठकमा सहभागी नहुने बताइसकेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले गठबन्धन पार्टी बैठकमा साक्षी बस्न एमाले उपस्थित नहुने बताउनुभयो । उहाँले संसद्मा पार्टीले उठाएका विषयमाथि सिधै पार्टी अध्यक्षसँग संवाद गर्नुपर्ने बताउनुभएको छ ।
भट्टराईले भन्नुभयो, ‘एमालेले संसदमा उठाएका माग सम्बोधन गर्न सर्वदलीय बैठक बोलाएको हो भने पार्टी अध्यक्षसँग सीधा संवाद गर्दा हुन्छ । होइन भने गठबन्धनको बैठकमा हामी जाँदैनौँ ।’
मङ्सिर २८ गते सुरु भएको संसद् प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्दै आएको छ । संसद्मा महत्वपूर्ण विधेयक विचाराधीन रहेको अवस्थामा बैठक अवरुद्ध भएपछि सर्वदलीय बैठक आह्वान भएको हो । अघिल्लो अधिवेशनमा समेत एमालेले संसद् अवरुद्ध गरेको थियो।
सर्वदलीय बैठकमा संसद्मा विचाराधीन विधेयक र अन्य विषयमा छलफल हुने प्रधानमन्त्रीका कानुनविज्ञ सल्लाहकार केशवराज जोशीले जानकारी दिनुभयो । बैठकपछि संसद्मा देखिएको गतिरोध हट्ने विश्वास प्रधानमन्त्रीले लिनुभएको छ ।