काठमाडौँ, पुस ६ गते । मंगलबारको प्रतिनिधिसभा बैठकमा समाचार संकलनका लागि अवरोध भएको भन्दै संसदीय मामिला पत्रकार समाजले आपत्ति जनाएको छ ।
समाचार संकलनमा सहजीकरण गर्नुको साटो संघीय संसद् सचिवालयबाट पटकपटक रोक लगाइएको भन्दै समाजको तर्फबाट सचिव जयसिंह महराले विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाउनुभएको हो । लोकतन्त्रको सर्वोच्च थलो संसद्का गतिविधिमा रोक लगाएर प्रेस स्वतन्त्रतामा आँच पुग्ने काम गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘प्रतिनिधिसभाको २०७८ पुस ६ गते मंगलबारको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गर्दछ । समाचार संकलनमा सहजीकरण गर्नुको साटो संघीय संसद् सचिवालयबाट पटक–पटक रोक लगाइनु दुःखद् हो’, सचिव महराले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘संसद् लोकतन्त्रको सर्वोच्च थलो हो र यहाँ हुने प्रत्येक कुरा पारदर्शी रूपमा जनतामाझ पुग्नुपर्नेमा समाचार संकलनमै रोक लगाउँदा लोकतन्त्रको मूल्यमान्यता र प्रेस स्वतन्त्रतामा आँच आएको छ ।’
घटनाबारे सचिवालयका पदाधिकारीको ध्यानाकर्षण गराएको समाजले जनाएको छ । यस्ता घटना पुनः नदोहोरियोस् भन्दै समाजले ध्यानाकर्षण गराएको हो ।
यता सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले समाचार संकलनका लागि पत्रकारलाई रोक्ने कुनै नीति नरहेको बताउनुभएको छ । कार्यक्षेमा रहेका सुरक्षाकर्मीसँग सञ्चारको समस्या हुँदा पर्न गएको असुविधाप्रति उहाँले दुःख व्यक्त गर्नुभएको छ ।