logo
२०८१ मंसिर ८ शनिवार



काँग्रेस प्रदेश २ को नेतृत्वका लागि मतदान जारी

राजनीति |


काँग्रेस प्रदेश २ को नेतृत्वका लागि मतदान जारी


धनुषा, पुस ८ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ ।

बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान १० बजेदेखि मतदान सुरु भएको थियो ।

दिउँसो २ बजेसम्ममा ७०० जनाले मतदान गर्नुभएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो । मतदाताको लामो लाइन भएको हुँदा मतदान कार्यक्रम अबेर साँझसम्म चल्ने बताइएको छ ।

जनकपुरधामको गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान कार्यक्रम भइरहेको छ । अहिलेसम्म व्यवस्थित रुपमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि दुई–दुई जिल्ला गरेर चार वटा बुथको व्यवस्था गरिएको छ । धनुषा–महोत्तरी, सिराहा– सप्तरी, सर्लाही– रौतहट र बारा– पर्साका गरेर चार वटा बुथ तोकेर मतदाताले मतदान गरिरहेका छन् ।

काँग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला–निधि पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

संस्थापन पक्षले काँग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला–निधि पक्षले काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । कुल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये पाँच जना सदस्य निर्विरोध निर्वाचित भएको र छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

प्रदेश २ का आठ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी दुई हजार मतदाता रहेको बताइएको छ । यसैबीच काँग्रेसका नेता एवं पूर्वउपसभापति विमलेन्द्र निधिले गोपाल धर्मशालामा पुगेर मतदान गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?