काठमाडौं, पुस १६ गते । सरकारले नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकाय प्रधानसेनापतिमा सिफारिस गरेको छ । पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रथी कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानसेनापति प्रभुराम शर्मा पुस १८ देखि ३० गतेसम्म घर बिदामा बस्नुहुने भएपछि बलाधिकृत रथी कार्कीलाई सेनाको कायममुकाय प्रधानसेनापतिको कार्यभार दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले कृषि तथा पशुपन्छी मन्त्रालयका नेपाली कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा. गगादत्त आचार्यलाई सार्क एग्रिकचल सेन्टर, ढाकामा वरिष्ठ कार्यक्रम विशेषज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय गरेको छ ।
निर्वाचन आयोग सम्बन्धी विधेय तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
यसैगरी, सुर्खेत जिल्लाको साविक लेक फर्सा काफर कोर्ट र पराजुल गाविसको जग्गा प्रशासन सम्बन्धी काम मालपोत तथा नापी कार्यालय मेहलकुना सुर्खेतलाई हस्तान्तरण गरेर सेवा सञ्चालन गर्न स्वीकृत दिने निर्णय सरकारले गरेको छ ।
चिकित्सा शिक्षाको स्नात्तक तहमा चीनलागायतका मुलुकका विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको बाँकी रहेको प्रयोगात्मक परीक्षा पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत सरकारले गरेको छ ।
सँगै सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास समिति अध्यक्षमा भानु नगरपालिका – ४ तनहुँ निवासी श्रीराम पन्त र कार्यकारी निर्देशकमा श्रीशंखर रानाभाटलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।