logo
२०८१ मंसिर १० सोमवार



एमाले प्रतिनिधिका लागि धुलिखेलका होटलमा २५ प्रतिशत छुट

राजनीति |
अर्थ |


एमाले प्रतिनिधिका लागि धुलिखेलका होटलमा २५ प्रतिशत छुट


केदार तिमल्सिना
बनेपा, पुस २१ गते । नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनको अवसरमा काभ्रेको धुलिखेलमा रहेका होटलहरुले २५ प्रतिशत छुट दिने भएका छन् । शुक्रबार हुने एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा भाग लिन आउने प्रतिनिधिहरुलाई खाना बस्नका लागि धुलिखेलमा रहेका होटलहरुले २५ प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।

क्षेत्रिय होटल सङ्घ काभ्रेका अध्यक्ष तथा धुलिखेल लज एण्ड रिसोर्टका सञ्चलक प्रेमकण्ठ माकजु श्रेष्ठले एमालेको जिल्ला अधिवेशनमा भाग लिन आउने प्रतिनिधिहरुको लागि धुलिखेलमा रहेका होटल तथा रिसोर्टमा खाना र बस्नको लागि २५ प्रतिशत छुट दिने निर्णय गरेको बताउनुभयो । ‘जिल्लाका विभिन्न स्थानबाट धुलिखेल आउने एमालेका प्रतिनिधिहरुका कारण धुलिखेलको प्रचारप्रसार तथा आन्तरिक पर्यटनमा टेवा पुग्ने र यहाँको होटल तथा रिसोर्टको व्यापार, व्यवसायमा सकरात्मक प्रभाव पर्ने भएकोले हामीले छुट दिने निर्णय गरेका हौँ’ उहाँले थप्नुभयो । उहाँले एमालेको जिल्ला अधिवेशनमा आउने प्रतिनिधिहरुले व्यक्तिगत रुपमा होटलको कोठाहरु बुकिङ हुने क्रम बढेको बताउनुभयो ।

उहाँले धुलिखेलमा रहेका साना तथा ठूला गरी करिब एक सय वटा होटलले एमालेका प्रतिनिधिहरुलाई २५ प्रतिशत छुटमा बस्नको लागि कोठा तथा खाना उपलब्ध गराउने बताउनुभयो । उहाँले सौराहामा भएको एमालेको दशौँ महाअधिवेशनमा आउने प्रतिनिधिका कारण तीन अर्ब रुपियाँ बराबरको कारोवार भएकोले धुलिखेलमा आउने प्रतिनिधिका कारण कोभिडबाट थलिएको धुलिखेलको होटल व्यवसाय उकास्न सहयोग पुग्नेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने अधिवेशनको उद्घाटन सत्रमा ५० हजार नागरिक उपस्थित गराउने एमाले काभ्रेको लक्ष्य छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?