काठमाडौं, पुस २४ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जारी जिल्ला अधिवेशनअन्तर्गत दाङ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार दाङ जिल्ला अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी, उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहरी बुढाथोकी, उपसचिवद्वयमा कृष्ण भुषाल र हीरादेवी पुन चयन हुनुभएको छ । यसबाहेक सदस्यहरुसहित १२१ कमिटीको जिल्ला कमिटी चयन भएको उहाँ बताउनुहुन्छ ।
एमालेको शुक्रबार काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको समुद्घाटन गर्नुभएको थियो । हालसम्म ६३ जिल्लाको अधिवेशन प्रक्रिया भइरहेको अधिकारीले बताउनुभयो । बाँकी रहेका १४ जिल्लामा पनि हिमाली क्षेत्रका जिल्लाहरसमा बढी हिमपात एवम् भौगोलिक विषमता र तराईमा मौसमको प्रतिकूलताका कारण एकै पटक जिल्ला अधिवेशन हुन नसकेको उहाँको भनाइ छ । यी जिल्लाहरुको पनि छिटोभन्दा छिटो अधिवेशन सम्पन्न हुने उहाँले बताउनुभएको छ ।