logo
२०८१ मंसिर ८ शनिवार



प्रदेश सरकारले छिट्टै प्रज्ञा प्रतिष्ठान स्थापना गर्छ : मुख्यमन्त्री राउत

राजनीति |


प्रदेश सरकारले छिट्टै प्रज्ञा प्रतिष्ठान स्थापना गर्छ : मुख्यमन्त्री राउत
कार्यक्रममा सहभागी प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत । तस्बिर धर्बेन्द्र झा


धर्बेन्द्र झा
जनकपुरधाम, पुस २५ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्रको भाषा साहित्य र संस्कृतिको संरक्षणका लागि प्रदेश सरकारले छिट्टै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताउनुभएको छ । विश्व हिन्दी दिवस– २०२२ को अवसरमा भारतको महावाणिज्य दूतावास वीरगंजले जनकपुरधाममा गरेको नेपाल र भारत संस्कृतिक सम्बन्धमा हिन्दीको योगदान विषयक विचार गोष्ठीमा बोल्दै यस्तो बताउनु भएको हो ।

उहाँले भाषा साहित्य र संस्कृतिको संरक्षण नगरे प्रदेश समृद्ध हुन नसक्ने भन्दै प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठनका लागि छिट्टै संस्थागत निर्णय गर्ने बताउनुभएको हो । उहाँले नेपाल र भारतबीच लामो समयदेखि विशेष सम्बन्ध रहेको भन्दै दुवै देशको सम्बन्ध स्थापनामा हिन्दी भाषाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री राउतले हिन्दी भाषा विगतमा र दुवै देशको सम्बन्धलाई जोड्ने माध्यम बनेको बताउनुभयो । ‘बिगतमा पनि भारतमा गएर हामीले शिक्षा दीक्षा प्राप्त गर्थ्यौं । आज पनि पण्डित पुरोहितले पुजा पाठमा हिन्दी भाषाको प्रयोग गर्ने गरेका छन्’, उहाँले भन्नुभयो, ‘त्यसैले आजको समयमा पनि हिन्दी भाषाले हामीलाई जोड्ने काम गरेको छ ।’

कार्यक्रममा प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहले नेपाल र भारतबीच बेटी रोटीको सम्बन्ध रहेको भन्दै आउने दिनमा यसलाई अझै सुदृढ बनाएर जानुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा भारतका महावाणिज्य दूत नितेष कुमारले हिन्दी भाषाले विश्वभर स्थान पाएको बताउनुभयो ।

कार्यक्रममा जनकपुरधामका नगर प्रमुख लालकिशोर साह, प्राध्यापक डा.पशुपति झा, प्राज्ञ राभरोस कापर सहितका वक्ताले नेपाल र भारतको संस्कृतिक सम्बन्धमा हिन्दीको योगदान विषयमा आ—आफनो धारणा राख्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?