काठमाडौं, पुस २७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सहमति विपरीत भारतीय पक्षबाट नेपाली भू–भागमा सडकसहितका संरचना बनाएको भन्दै आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले आपत्ति जनाउनु भएको हो ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुई देशबीच सीमालगायत विषयमा कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमति विपरित संरचना बनेको उहाँको भनाइ छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भू–भागका रुपमा रहेको र गतवर्ष नै राजनीतिक–प्रशासनिक नक्सा सार्वजनिक गरेको सम्झनासमेत उहाँले विज्ञप्तिमा गर्नुभएको छ ।
‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीच थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तीव्रता दिएकोप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
एमालेले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने गतिविधि बन्द गर्नसमेत भनेको छ । प्रतिपक्षी दल एमालेले वार्ताको माध्यमबाट यस्ता विषय टुंगो लगाउनुपर्नेमा जोड दिएको छ । राष्ट्रियताको विषयमा सरकार गम्भीर बन्नुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।