logo
२०८१ मंसिर ७ शुक्रवार



प्रदेश २ को नाम र राजधानी टुङ्ग्याउन मतदानको तयारी

राजनीति |


प्रदेश २ को नाम र राजधानी टुङ्ग्याउन मतदानको तयारी


विजयकुमार साह
ढल्केबर, माघ ३ गते । प्रदेश २ का अर्थमन्त्री एवम् प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद साहले प्रदेश २ को नामकरण ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ मा मतदान गर्न प्रदेशसभा सदस्यहरूलाई आग्रह गर्नुभएको छ ।

प्रदेशका नाम र राजधानी टुङ्गो लगाउन प्रदेशसभा २ मा सोमबार हुने मतदानअघि मन्त्री साहले विज्ञप्ति जारी गर्दै मधेश विद्रोहका पृष्ठभूमि, जनविद्रोहबाट प्रतिबिम्बित जनचाहना र सार्वजनीन आवश्यकताका सिद्धान्त तथा व्यवहारका आधारमा प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने सो आग्रह गर्नुभएको हो ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका नेतासमेत रहेका मन्त्री साहले बहुविध भाषिक र सांस्कृतिक समुदायलाई सम्बोधन गर्ने मधेश शब्दको स्वीकृतिले पहिचान र अधिकारप्राप्तिको लडाइँलाई अझ सशक्त बनाउन प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामले प्रेरणा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

उहाँले प्रदेशका नाम र राजधानीप्रति प्रदेशवासीको स्वामित्व, अपनत्व र ममत्व अभिव्यक्त हुने ऐतिहासिक र दुरगामी प्रभावका दृष्टिले आजका दिन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै संवैधानिक प्रावधान र जनादेशअनुरूप प्रदेशको नाम र राजधानी निर्धारण गर्ने कामका लागि प्रदेशसभा सदस्यहरूले निरन्तर प्रयत्न गरेको विज्ञप्तिमा जनाउनुभएको छ ।

उहाँले संवाद, समन्वय र सहमति र त्यसो नहुँदा असहमतिलाई सहमतिमा रूपान्तरण गर्ने सर्वोत्कृष्ट लोकतान्त्रिक विधि मतदानबाट प्रदेशको नामकरण र राजधानीका विषयमा निचोडमा पुग्ने बेलामा जनसङ्घर्षको लामो शृङ्खलाबाट स्थापित प्रादेशिक राजनीतिक सत्तालाई मजबुत र दिगो बनाउन हामीले विवाद, विमति र मनोमालिन्यबाट माथि उठेर जनआकांक्षालाई सम्बोधन गर्नसमेत प्रदेशसभा सदस्यहरूको ध्यानाकृष्ट गराउनुभएको छ ।

‘प्रदेशको नामकरण र राजधानी तय गर्ने कुरा सही अर्थमा एउटा कठिन र कष्टसाध्य काम हो । तर पहिलो प्रदेशसभाका सदस्य भएका नाताले यी जिम्मेवारी पूरा गर्ने दायित्व निर्वाह गर्दा भविष्यमा प्रादेशिक सत्ता र समृद्धिका लागि सुन्दर बाटो प्रशस्त गर्नेछ ।’
मन्त्री साहले सोमबारको मतदानबाट प्रदेशको नाम र राजधानी तय भए इतिहासका पानामा प्रदेशसभा सदस्यका काम सुनौला अक्षरले लेखिने भन्नुभएको छ ।

जसपा नेता साहले अधुरो, अपुरो, त्रुटिपूर्ण र विभेदकारी संविधानबाट प्राप्त सङ्घीय संरचनाअन्तर्गत प्रादेशिक सत्ता अभ्यास गरिरहँदा स्वायत्तता र स्वशासन नै निषेधित हुनेगरी अघि बढ्न बाध्य हुनुपरेको कठोर यथार्थबारे अवगत नै रहेको बताउँदै विज्ञप्तिमा संविधान निर्माणका स्रोत र आधारलाई उपेक्षा गर्दै जनअभिमतविपरीत सङ्घीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली, नागरिकता जस्ता कुरालाई वस्तुपरक ढङ्गले सम्बोधन नगरिएको गुनासो प्रकट गर्नुभएको छ ।

तर उनले लोकतान्त्रिक विधि एवम् प्रक्रियाबाटै संशोधन तथा परिमार्जन गराई संविधानलाई पूर्णता दिने कुरामा जसपा नेपाल प्रतिबद्ध रहँदै आएको थप्दै पार्टीको त्यस दृष्टिकोणप्रति देशका विभिन्न राजनीतिक शक्तिहरूले विभिन्न सम्झौता र समझदारी गर्दै आफ्ना सहमति व्यक्त गरिसकेकालाई सकारात्मक रूपमा लिनुभएको छ ।

प्रदेशका सातवटा संरचनाप्रति जसपा नेपालको विमति रहेको प्रस्ट्याउँदै नेता साहले ऐतिहासिक मधेश जनविद्रोहबाट प्राप्त सङ्घीयतालाई संस्थागत र सुदृढ गर्ने कुरामा आफूहरूले निकै सजगता अपनाएकोमा जोड दिँदै प्रदेशको नामकरण र राजधानीका विषयमा आएका प्रस्ताव र ती प्रस्ताव उपर भएका छलफल प्रदेशसभाको सर्वोच्चता र विशिष्टताको एउटा अविस्मरणीय अध्याय बन्ने भन्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?