काठमाडौं, माघ २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा देखा परेको आन्तरिक मतभेदको समाधानका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको प्रयास जारी छ । यसका लागि शनिबार (माघ २२) गते अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापालाई बुढानिलकण्ठस्थित उहाँकै निजी निवासमा पुगेर भेट गर्नुभएको थियो ।
राप्रपामा आन्तरिक मतभेद्का कारण निवर्तमान अध्यक्ष थापा नयाँ दल खोल्ने तयारीमा रहनुभएको भन्ने विषय मिडियामा आएपनि लिङ्देन र थापाबीचको छलफलमा भने सम्वाद जारी राख्ने सहमति भएको राप्रपाका पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।
‘नयाँ पार्टीबारे त्यस्तो छैन । यो कुरा मिल्छ । एकैचोटी सबै कुरा नटुंगिने हुनाले छलफल जारी राख्ने सहमति भएको छ ।’, गोरखापत्र अनलाइनसँग कुराकानी गर्नुृहुदै श्रेष्ठले बताउनुभयो । छलफलमा पूर्वअध्यक्ष थापाले अहिले कुनै पनि गतिविधि अगाडि नबढाउने सहमति भएको समेत जानरकाी दिनुभयो ।
पार्टीमा कोही असन्तुष्ट हुनुपर्ने अवस्था छैन : अध्यक्ष लिङ्देन
आइतबार राप्रपाको विधान अनुरुप अध्यक्ष लिङ्देनद्धारा मनोनित २४ पदाधिकारीलाई पार्टी कार्यालयमा स्वागत एवम् मनोनयन पत्र हस्तान्तरण पनि गरिएको छ । यसै क्रममा अध्यक्ष लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताउनुभएको हो ।
विगतका केही समस्याहरु निकट भविष्यमा नै टुंगोमा पुर्याइने र पार्टीका नेता, कार्यकर्तालाई निराश नबनाइने उहाँको भनाइ छ । समारोहमा निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पार्टीका निर्वाचित पदाधिकारीले नवनियुक्त पदाधिकारीलाई शुभकामना दिनुभएको छ ।