काठमाडौं, माघ २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले सोमबार काठमाडौंमा बोलाउनुभएको भेलामा उहाँले चुनाव घोषणाको मितिसम्म आफूले राख्दै आउनुभएको माग पूरा हुनुपर्ने अडान राख्नुभएको छ ।
भेलामा सहभागी थापा निकट राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाका अनुसार थापाले विगतदेखि राख्दै आउनुभएको मागको सुनुवाइ नभइरहेको र माग सम्बोधन नभए नयाँ पार्टी खोल्नेसम्मको अवस्था आउने जनाइएको छ । यसका लागि आफू निकट पार्टीका नेता, कार्यकर्तामा सहयोगको लागि आह्वान पनि गर्नुभएको उहाँको भनाइ छ ।
चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा भएको भेलामा बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान र कुन्ती शाहीलगायतका राप्रपाका पदाधिकारी तथा नेताहरुको उपस्थिति थियो ।
पछिल्लो महाधिवेशनबाट अध्यक्षमा पराजित हुनुभएपछि थापाले यसमा निर्मल निवासको हस्तक्षेप भएको बताउँदै आउनुभएको छ । यहि विषयमा पार्टीमा छानबिन हुनुपर्ने माग उहाँको हो ।
थापाद्वारा आयोजित भेला सम्पन्न भइसकेको छ ।