logo
२०८१ मंसिर १० सोमवार



विप्लव समूहको इन्चार्जसहितको जुम्ला जिल्ला समिति माओवादी केन्द्रमा समाहित

राजनीति |


विप्लव समूहको इन्चार्जसहितको जुम्ला जिल्ला समिति माओवादी केन्द्रमा समाहित


काठमाडौं, माघ २५ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिङ्गो जिल्ला पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिवास खुमलटारमा आज बिहान आयोजित एक कार्यक्रमकाबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रविकिरण)सहित जिल्ला सचिव, सह–सचिवलगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले ढिलोचाँडाे माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउनुभयो । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझैँ लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उहाँको भनाइ थियो ।

‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्, ’ उहाँले भन्नुभयो, हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’ उहाँले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एक ठाउँमा केन्द्रित हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’ अध्यक्षले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताउनुभयो ।

प्रवेश गर्नेतर्फबाट चन्द्रवीर तिरुवाले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताउनुभयो । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष प्रचण्ड नेतृत्वको पार्टीमा घर फर्किएको उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?