logo
२०८२ असार ४ बुधवार



निर्वाचन तयारी : तनहुँमा सम्पर्क व्यक्ति तोकिए

राजनीति |


निर्वाचन तयारी : तनहुँमा सम्पर्क व्यक्ति तोकिए


अमरराज नहर्की
तनहुँ, माघ २६ गते । जिल्ला निर्वाचन कार्यालय तनहुँले १० वटै स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति तोकेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सहयोग र समन्वय गर्न एक–एकजना सम्पर्क व्यक्ति तोकिएको कार्यालयले जनाएको छ ।

नामावली सङ्कलन तथा अद्यावधिक, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम र सूचना तथा सन्देश सम्प्रेषण गर्ने लगायत कार्यका लागि सम्पर्क व्यक्ति तोकिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो ।

स्थानीय तहलाई पत्राचार गर्दै पालिकाले छनौट गरेर पठाएका व्यक्तिलाई निर्वाचन सम्पर्क व्यक्ति चयन गरिएको हो । व्यास नगरपालिकामा नगेन्द्रप्रसाद रेग्मी, भिमाद नगरपालिकामा पदमराज आचार्य, शुक्लागण्डकी नगरपालिकामा ज्योतिप्रकाश तिमल्सेना, भानु नगरपालिकामा ध्रुवराज पौडेल निर्वाचन सम्पर्क व्यक्ति चयन हुनुभएको छ ।

ऋषिङ गाउँपालिकामा सुभासचन्द्र रानाभाट, घिरिङ गाउँपालिकामा ध्रुवराज लामिछाने, देवघाट गाउँपालिकामा दुर्गबहादुर राना, आँबुखैरेनी गाउँपालिकामा निरोज श्रेष्ठ, बन्दीपुर गाउँपालिकामा विष्णु खत्री क्षेत्री र म्याग्दे गाउँपालिकामा इन्द्रप्रसाद खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

निर्वाचन आयोगले कुनै पनि कार्यक्रम गर्नुपर्दा उनीहरुसँग समन्वय गर्नेछ । निर्वाचन कार्यालयले स्थानीय तहबारे बुझ्न परे उनीहरुसँग समन्वय गर्न सकिने जिल्ला निर्वाचन अधिकारी ढकालले बताउनुभयो ।

निर्वाचन आयोगले आगामी निर्वाचनमा तोकिएका कार्यमा सहयोग र समन्वय गर्न सबै प्रदेश र स्थानीय तहमा एक–एकजना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरे बमोजिम तनहुँमा पनि छनोट गरिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आयोगले स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी जानकारी गराउन अनुरोध गरे बमोजिम पालिकाका नगर शिक्षा अधिकारीलाई नै छनोट गरिएको कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?