काठमाडौं, माघ २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठक वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनबारे केन्द्रित भएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा पार्टीका महामन्त्री एवम् स्थानीय तह निर्वाचन परिचालनका संयोजक भुवन पाठकले स्थानीय तह निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो । आगामी निर्वाचन लक्षित पार्टीको गतिविधिमा सक्रियता बढाउने एवम् फागुन महिनामा पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने राप्रपाले जनाएको छ ।
यसैगरी, पार्टीका वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेतसहित तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन भएको छ ।
यससँगै समान विचार भएका मोर्चासँग संवाद जारी राख्ने र हिन्दू राष्ट्रको पुनःस्थापना लगायतका पार्टीको सैद्धान्तिक कार्यदिशामा कुनै सम्झौता नहुने विषयमा राप्रपा केन्द्रीय समितिको बैठकमा पुनः छलफल भएको छ ।