काठमाडौं, माघ २७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै स्थानीय तहको निर्वाचनको यात्रा प्रारम्भ भएको बताउनुभएको छ ।
पाँच दलीय सत्ता गठबन्धनप्रति इंगित गर्नुहुदै उहाँले प्रधानमन्त्री एवम् नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा बाहेक अरुले आगामी चुनावमा गठबन्धन नहुने बताइरहेको उहाँको भनाई छ । यसले स्थानीय चुनावमा गठबन्धन सँगै जाने वा नजान भनेर छुट्याइरहन आवश्यक नरहेको बताउनुभयो ।
विगतमा एकीकृत भइसकेको वामपन्थी शक्तिलाई फुटाएकाहरु प्रतिक्रियावादीको औंलो समातेर हिड्न थालेको आरोप उहाँले लगाउनुभयो । ‘जडसुत्रवादी यति भयानक समस्या भइरहेको छ । दक्षिणपन्थीसँग आत्मसमर्पण गर्ने वा सोझै साँठगाँठ गर्ने र राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिने काम भएको छ ।’, अध्यक्ष ओलीले बताउनुभयो ।
समग्रमा, स्थानीय तहको निर्वाच्नका लागि शुक्रबारबाट प्रशिक्षण कार्यक्रम सुरु भएको बताउनुहुदै उहाँले यसलाई जनताको विजयको रुपमा अगाडि बढाउने दाबी समेत गर्नुभयो ।
यससँगै, वैचारिक एवम् व्यवहारिक हिसाबले ठिक ठानेर पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुहुदै उहाँले सत्ता परिवर्तन भएपनि सामाजिक परिवर्तनमा लामो समय लाग्ने धारणा व्यक्त गर्नुभएको छ । ‘सामाजिक परिवर्तनले लामो समय लिन्छ । सचेत र सकारात्मक प्रयासहरुबाट मात्रै समाजलाई अगाडि लान सकिन्छ । यसमा एमालेले दृढ संकल्प लिएको छ ।’, उहाँले बताउनुभएको छ ।