logo
२०८१ जेष्ठ ४ शुक्रवार



महाअभियोगकै कारण वर्तमान सत्ता गढबन्धनमा कुनै समस्या आउँदैन : अध्यक्ष प्रचण्ड

राजनीति |


महाअभियोगकै कारण वर्तमान सत्ता गढबन्धनमा कुनै समस्या आउँदैन : अध्यक्ष प्रचण्ड
जनकपुरधाममा आयोजित कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै नेताहरु। तस्बिर : धर्बेन्द्र झ/धनुषा


धर्वेन्द्र झा, विजयकुमार साह

जनकपुरधाम, फागुन १ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन तत्काल नटुट्ने बताउनुभएको छ। २७ औं जनयुद्ध दिवसको अवसरमा आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताउनुभएको हो।

लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षा वर्तमान गठबन्धनको साझा लक्ष्य भएको भन्दै उहाँले सरकार त्यही बाटोमा अगाडि बढेको बताउनुभयो। सरकारलाई ढाल्न प्रतिक्रियावादी तथा प्रतिगामी शक्ति लागेको आरोप उहाँको छ। प्रचण्डले मधेस सरकारले औपचारिक रुपमा पहिलो पटक जनयुद्ध दिवस मनाएर देश विदेशमा नयाँ रेकर्ड राख्नमा सफल भएको बताउनुभयो। उहाँले पहिचानसहितको प्रदेशको नाम तथा राजधानी तोकेर पनि मधेस प्रदेशले चर्चा पाएको उल्लेख गर्नुभयो।

मधेस प्रदेशमा देखिएको नागरिकताको समस्या गठबन्धन सरकारले चाँडै समाधान गर्ने उहाँको भनाइ छ। कार्यक्रममा प्रचण्डले मधेस प्रदेशका ८ जिल्लाका ४० शहीद परिवारलाई १ लाखको दरले राहत रकमसहित सम्मान गर्नुभयो। कार्यक्रममा मधेस प्रदेश प्रदेश प्रमुख हरिशंकर मिश्रले शहीदको सपना साकार पार्नका लागि संघीयतालाई बलियो बनाउदै मुलुकलाई आर्थिक रुपमा समृद्धिको बाटोमा लान जरुरी रहेको बताउनुभयो।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जुममार्फत् सम्बोधन गर्दै मधेस आन्दोलन, जनयुद्धसहितका अन्य आन्दोलनमा मधेसी जनताले योगदान गरेकाले संघीय गणतन्त्र आएको बताउनुभयो।

कार्यक्रममा मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, संघीय सरकारका शिक्षा विज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव, मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, नेकपा माओवादी केन्द्रका नेता मातृका यादवसहितका नेताको उपस्थिति थियो।

यसैबीच हाम्रा ढल्केबर समाचारदाता विजयकुमार साहले पठाउनुभएको समाचारअनुसार अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै पाँच दलीय गठबन्धनको निर्णयअनुसार नै प्रधानान्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाउने निर्णय भएको बताउनुभयो ।

आइतबार जनकपुरधाम आउनुभएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपालको न्यायालय क्षेत्रमामा देखिएको बेथिति अन्त्य गर्न सत्ता साझेदार पाँच दलीय गठबन्धनको सहमतिमा प्रधानन्यायधीश जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताउनुभयो । मधेस न्यायको क्षेत्रमा केही सयम यता अन्यौल, अराजकता र बेथिति देखा परेकाले किनारा लगाउने कोशिस भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले यसकै कारण गठनबन्धन कुनै समस्या नआउने विश्वास व्यक्त गर्नुभयो । “स्वतन्त्र न्यायलयमा विचित्रको अवस्था आएको थियो । यसको सहज निकासको खोजेका थियौं तर त्यसो हुन नसकेपछि यो कदम चालिएको हो” उहाँले बताउनुभयो ।

प्रधानन्यायधीश विदामा बसेर हुन्छ कि सबैलाई विश्वासमा लिएर हुन्छ निकास दिनुको साटो न्याय क्षेत्र झन् अराजक बन्न लागेपछि र न्यायलयमा सुधार हुने अवस्था नदेखिएपछि महाअभियोग लगाउनु परेको हो उहाँले भन्नुभयो, “काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसँग सहमति गरेरै यो कदम चालिएको हो ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?