logo
२०८१ बैशाख २० बिहीवार



प्रदेश नामकरणको प्रस्ताव दुई महिनामा अगाडि बढ्छ : मुख्यमन्त्री राई

राजनीति |


प्रदेश नामकरणको प्रस्ताव दुई महिनामा अगाडि बढ्छ : मुख्यमन्त्री राई
समाजवादी प्रेस संगठन प्रदेश १ को भेलामा प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राई र सहभागी : शशिधर पराजुली


विराटनगर, फागुन ४ गते। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणको छलफल प्रदेशसभाको चालु अधिवेशनमै अघि बढ्ने बताउनुभएको छ। नामकरणमा सरकारको भूमिका समन्वयकारी मात्र रहेको भन्दै उहाँले विगतमा वातावरण तयार नपार्दा छलफल हुन नसकेको बताउनुभएको हो। ‘विगतमा विवादले नामकरण रोकिएको होइन छलफल नबढाएर हो,’ मुख्यमन्त्री राईले भन्नुभयो।

समाजवादी प्रेस संगठन प्रदेश १ को भेलालाई बुधबार विराटनरमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले नामकरणको प्रस्तावमा छलफललाई सहजीकरण गर्न सरकारले एकजना मन्त्रीलाई नै जिम्मेवारी तोकिसकेको जानकारी दिनुभयो।

पहिले नेकपासँग दुईतिहाई मत हुँदा प्रस्ताव अघि बढ्ने र पारित हुने सहज अवस्था थियो। तर, तत्कालीन सरकारले छलफलको वातावरण नै तयार गरेन,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘अहिले सरकारसँग पारित गर्न आवश्यक मत छैन। तर हामी छलफलको वातावरण बनाउँछौं।’

मुखयमन्त्री राईले सहमतिमा नामकरण गर्ने अधिकतम प्रयास गर्ने बताउनुभयो। उहाँले दुई महिनाभित्रै नामकरणको प्रस्तावमा छलफल हुने र सहमतिमा टुंगिने विश्वास व्यक्त गर्नुभयो। विषम राजनीतिक परिवेशमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको स्मरण गर्नुहुँदै मुख्यमन्त्री राईले अघिल्लो सरकारले सिर्जना गरेको आर्थिक खाडल कसरी पुर्ने भन्ने चिन्तामा रहेको बताउनुभयो।

सरकारले १०–१५ दिनभित्रै बजेट पुनरवलोकन गरेर कार्यान्वयनमा लैजाने अन्तिम तयारी थालेको मुख्यमन्त्री राईले बताउनुभयो।

कामको आवश्यकता र राजनीतिक आवश्यकताले मन्त्रालयको संख्या बढाउनु परेको मुख्यमन्त्री राईको भनाइ छ। मिडियाले दबाब समूहको रुपमा काम गर्नुपर्ने भन्दै मुख्यमन्त्री राईले दबाब समूहको अभावमा लोकतन्त्रलाई सही प्रयोग नहुने बताउनुभयो। तर मिडिया जिम्मेवार र जनताप्रति उत्तरदायी हुनुपर्ने उहाँको भनाइथियो। उहाँले मिडियालाई व्यवस्थित गर्ने गरी सरकारले कानुन मस्यौदा तयार गरिरहेको जानकारी दिँदै आवश्यक सुझावको अपेक्षा गरेको पनि बताउनुभयो।

कार्यक्रममा यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले पत्रकारले जनताको पक्षमा, न्याय र समानता लागि सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो। अघिल्लो आर्थिक वर्षमा यातायात व्यवस्था कार्यालयबाट २ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु वर्षमा त्यो रकम बढ्ने र अर्को वर्ष दोब्बर बनाउने गरी नयाँ योजना तयार पारिरहेको उहाँले जानकारी दिनुभयो।

भेलामा समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी, उपमहासचिव रामकुमार एलन, नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरे, नेकपा एकीकृत समाजवादीका प्रदेश १ का सचिव महेश रेग्मी लगायतले शुभकामना व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?