काठमाडौं, फागुन १५ गते। सांसद हृदयस त्रिपाठीले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) एउटा विकास परियोजना भएको बताउनुभएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो। एमसीसीको विषयमा सत्तारुढ गठबन्धनमा समस्या देखिएको भन्दै उहाँले स्वेतपत्र जारी गर्नसमेत उहाँले माग गर्नुभएको छ।
‘एमसीसी सम्झौताको विषयमा समस्या गठबन्धनमा देखियो। कुन बन्धनबाट उहाँहरु बोल्नुभयो। म स्वेतपत्र जारी गर्न माग गर्दछु। कसको पालामा के–के भएको थियो स्पष्ट देखिने थियो’, त्रिपाठीले भन्नुभयो, ‘एमसीसी विकास परियोजना हो। यो अनुदान सहयोग हो। यो प्रकारका ५० औं सहयोग हामीले लिएका छौँ। अहिले आपत्ति जनाउनुपर्ने कुनै कारण छैन।’
विदेशी अनुदान भनेपछि स्वाभिमानको कुरा आएको भन्दै उहाँले यस्ता कुरा निबन्धमात्र भएको उल्लेख गर्नुभयो। ‘स्वाभिमानका कुरा निबन्ध हुन्। लाखौँ नेपाली खाडीमा छन् कहाँ छ स्वाधिनता र स्वाभिमान ?’, प्रश्न गर्दै उहाँले भन्नुभयो। उहाँले विकास योजनाको विषयमा बबाल खडा गर्नु ठिक नभएको उल्लेख गर्नुभयो।
‘सम्झौतालाई लिएर हामी बबाल खडा गरिराखेका छौँ। त्यो ठिक होइन’, उहाँले भन्नुभयो।