काठमाडौं, फागुन १८ गते। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।
प्रतिनिधिसभाबाट अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनसँगै श्रेष्ठ असन्तुष्ट हुनुहुन्छ। पार्टीभित्रै असन्तुष्ट बन्नु भएका नेता श्रेष्ठ र विप्लवबीच भएको भेटलाई महत्वका साथ हेरिएको छ। श्रेष्ठले विप्लवसँगको भेटमा एमसीसी विरुद्धको कार्यक्रम गर्ने विषयमा छलफल गर्नुभएको छ।
विप्लव निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका काठमाडौं जिल्लाका इन्चार्ज गोविन्द विष्टका अनुसार एमसीसीको विषयमा छलफल भएको बताउनुभयो।
एमसीसी राष्ट्रहित विपरीत भएको कुरा विगतदेखि नै पार्टीले राख्दै आएको र एक, दुई दिनमै खुलामञ्चमा पार्टी महासचिव विप्लवको उपस्थितीमा कार्यक्रम उहाँले बताउनुभयो।
‘झुक्याएर एमसीसी अनुमोदन गरिएको छ। यसका विरुद्धमा कार्यक्रमहरु अगाडि बढाउने विषयमा नेता श्रेष्ठ लगायत अरुसँग पनि छलफल भएको छ’, उहाँले भन्नुभयो।
बुधबार बिहान श्रेष्ठ निवास हात्तिवनमा श्रेष्ठ र विप्लवको एक घण्टा छलफल भएको हो।