काठमाडौं, फागुन २५ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने बताउनुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उहाँले एमसीसी नेपालको हितमा रहेकाले काँग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसीसीको वकालत गरेको बताउनुभएको हो ।
“एमसीसी मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेकाले नेपालको हितमा छ भनेर काँग्रेसले सरकार र प्रतिपक्षमा हुँदा आवाज उठाउँदै आएको हो”, उहाँले भन्नुभयो । उहाँले विपक्षी दलले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताउनुभयो ।
नेता सिंहले केही दलले एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गर्दै हिँडेकोमा आपत्ति जनाउनुभयो । “के एमसीसी राष्ट्रघाती भएको भए संसदबाट पारित हुन्थ्यो त ?”, उहाँले प्रश्न गर्नुभयो । एमसीसीका बारेमा जनतालाई घरघरमा गएर बुझाउने जिम्मा काँग्रेसको काँधमा आएको उहाँको भनाइ छ ।