अविनाश चौधरी
धनगढी, फागुन २७ गते । कैलालीमा राजनीतिक दलहरुले चुनाव लक्षित गतिविधि बढाएका छन् । स्थानीय तहकोे चुनाव नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले जिल्लामा आफ्नो गतिविधि बढाएका हुन् । मूलधारका राजनीतिक दलहरुमात्रै नभइ नवगठित दलको गतिविधि पनि यहाँ बढेको छ ।
दलहरुले निर्वाचन लक्षित कार्यक्रमदेखि नगर, गाउँपालिका, वडा र टोल स्तरीय समिति गठन तथा सङ्गठन विस्तार कार्यलाई तीव्रता दिएका छन् । टोलसम्म आफ्नो पार्टीको पकड बलियो बनाउनतर्फ दलहरुको ध्यान केन्द्रित छ । यसैगरी, स्थानीय तहका उम्मेदवारका आकाङ्क्षीहरुको नाम पनि सार्वजनिक हुन थालेको छ ।
प्रदेशको अस्थायी मुकाम धनगढी उपमहानगरपालिकामा नेपाली काङ्ग्रेसका तर्फबाट मेयरमा पुनः नृपबहादुर वड नै चुनाव लड्ने चर्चा चलेको छ । सो पार्टीको ‘हाई कमाण्ड’, ले वडको कामप्रति सन्तुष्टि जनाउँदै उहाँलाई नै अगाडि बढाउने मनस्थिति बनाएको बुझिएको छ ।
धनगढी उपमहानरपालिकाको प्रमुखमा स्वतन्त्रबाट सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले केही दिन अगाडि नै आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । २०७४ को निर्वाचनमा पनि हमालले स्वतन्त्रबाटै धनगढीको मेयरमा चुनाव लड्नुभएको थियो । उहाँले दुई हजार ७९७ मतान्तरले वडसँग पराजित हुनुभएको थियो । हमाललको भोट ११ हजार ५२७ रहेको थियो भने विजयी वडले १४ हजार ३२४ मत पाउनुभएको थियो ।
यसैगरी, आगामी निर्वाचनलाई लक्षित गरेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनगढीमा प्रदेशस्तरीय प्रशिक्षण नै गरिसकेको छ । सो पार्टीबाट धनगढीको मेयरमा निवर्तमान जिल्ला उपाध्यक्ष रणबहादुर चन्द, जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद जोशी र प्रदेश सदस्य जीवनबहादुर बम आकाङ्क्षी रहनुभएको चर्चा छ ।
त्यसो त, जिल्लाको अन्य स्थानीय तहमा पनि चुनावलाई लक्षित गरेर दलहरुका गतिविधि बढेका छन् । भजनी नगरपालिकामा चुनाव लक्षित गरेर मुख्य छ दलले आफ्ना गतिविधि आक्रामक रुपले अगाडि बढाएको जयप्रकाश ढुङ्गानाले बताउनुभयो । ‘नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीका गतिविधि धेरै छ’, उहाँले भन्नुभयो ।
दलहरुले आफ्नो पकड बलियो बनाउनका लागि वडा, टोल कमिटी विस्तार गर्नेदेखि लिएर जनतासँग भेटघाट गर्ने कार्यलाई तीव्रता दिएका छन् । सबै स्थानीय तहमा निर्वाचनलाई लक्षित गरी दलहरुको गतिविधि बढेको छ ।
टीकापुर घटनाका मुख्य दोषी ठह¥याइएका रेशम चौधरीको प्रभाव क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले गतिविधि बलियो बनाउनेतर्फ ध्यान केन्द्रित गरेको छ । आगामी चुनावलाई लक्षित गरेर सो पार्टीले आफ्नो गतिविधिलाई तीव्रता दिएको हो । अहिले आफ्नो पार्टीले क्षेत्र नम्बर १, २ र ३ का स्थानीय तहमा गतिविधिलाई व्यापक पारेको सो पार्टीका केन्द्रीय सदस्य गङ्गा चौधरीले बताउनुभयो ।
‘टीकापुर नगरपालिका, भजनी, जोशीपुर गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा नगर/गाउँपालिका स्तरीयदेखि लिएर वडा र टोलस्तरीय कमिटी गठन भइसकेको छ’, उहाँले भन्नुभयो, ‘जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिकामा अहिले समिति विस्तारका कार्यलाई अगाडि बढाएका छौं ।’
जिल्लाको पूर्वी क्षेत्रका स्थानीय तहमा समिति विस्तारका कार्य सकिएपछि जिल्लास्थित बाँकी अन्य स्थानीय तहमा कमिटी र सङ्गठन विस्तारको कार्य अगाडि बढाउने केन्द्रीय सदस्य चौधरीले बताउनुभयो ।
रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा गठित सो पार्टीमा स्थानीय तहका ३० जना जनप्रतिनिधि नै आबद्ध छन् । जसमध्ये टीकापुर नगरपालिका छ र भजनीका एक गरी सात जना वडाध्यक्ष छन् ।
सो पार्टीले पालिका स्तरीय समितिका अध्यक्षलाई पालिका प्रमुख र वडास्तरीय समितिका अध्यक्षहरुलाई वडाध्यक्षमा उम्मेदवार बनाउने गरी गृहकार्य गरिरहेको बताइएको छ । यद्यपि टुङ्गो भने लगाइएको छैन । चैत पहिलो साता उम्मेदवारका आकाङ्क्षीको टुङ्गो लाग्ने केन्द्रीय सदस्य चौधरीले जानकारी दिनुभयो । ।
कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा रेशम चौधरीले अत्यधिक मत ल्याएर विजयी हुनुभएको थियो ।