काठमाडौं, फागुन २७ गते। बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले चार वटा पार्टीलाई राष्ट्रिय दलको मान्यता दिनु गलत रहेको बताउनुभयो। शुक्रबार निर्वाचन आयोगमा आयोगका पदाधिकारी र १७ राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले सबै दलले राष्ट्रिय दलको मान्यता पाउनुपर्ने बताउनुभयो।
‘काँग्रेस, एमाले, माओवादीलगायतका केही दल राष्ट्रिय हुने र अरु अराष्ट्रिय हुने हो ?’ उहाँले भन्नुभयो। त्यस्तै, उहाँले छलफलमा निर्वाचन खर्चको विषय पनि उठेको बताउनुभयो। ‘काँग्रेस, एमाले र माओवादीले दुई करोड, पाँच करोड, दश करोड, २० करोड खर्च गरेर हामी सांसद भएका छौं’, उहाँले भन्नुभयो, ‘यी पैसा किन राख्ने दुई करोड पाँच करोड राखौं भन्ने।’
उम्मेदवारले गर्ने खर्चको सीमा घटाउनुपर्ने लगायतको माग राखेको पनि उहाँले भन्नुभयो। यसैगरी, स्थानीय तह निर्वाचनमा सेना परिचालनको कुरा उठेको र त्यसमा आफूले असहमति राखेको समेत उहाँको भनाइ छ।