logo
२०८१ बैशाख २३ आईतवार



वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगी एमालेमा प्रवेश

राजनीति |
प्रदेश |


वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगी एमालेमा प्रवेश


दीपकप्रसाद गौतम
वीरगञ्ज, फागुन २८ गते । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी नेकपा एमाले पार्टीमा प्रवेश गर्नुभएको छ । अहिलेको जनता समाजवादी पार्टी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी अहिले केन्द्रीय सदस्य समेत रहनु भएको थियो ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मेयर सरावगीलाई फूलमाला लगाएर पार्टी प्रवेश गराउनुभएको नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष तथा इन्चार्ज प्रभु हजराले गोरखापत्रलाई बताउनुभयो । नेशनल मेडिकल कलेजका सञ्चालक जैनुदीन अन्सारीको छोरीको विवाहमा सहभागी हुन् वीरगञ्ज आउनुभएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख विजयकुमार सरावगीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कलवार, वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी, वडा नम्बर २५ का वडा अध्यक्ष अवध किशोर कुशवाह, माओवादी केन्द्रका नेता बाबुराम कौशिक लगायतलाई फूलमाला पहि¥याई टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष तथा इन्चार्ज हजराले जानकारी दिनुभयो ।
जसपाभित्रका केही नेता र कार्यकर्ताहरुले आफूलाई अफ्ठ्यारोमा पारेको भन्दै पार्टीको बैठकहरुमा समेत पार्टी परित्याग गर्ने जनाउँदै आउनुभएका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगी शनिबार आधिकारिकरुपमा नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
जसपा त्यागेर सुरुमा नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्ने चर्चा चले पनि नेताहरुसँग कुरा नमिलेपछि उहाँ एमाले प्रवेश गर्नुभएको बताइन्छ । नगरप्रमुख सरावगीले प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत भेटघाट गरी छलफल गरे पनि जिल्लाका काँग्रेस पार्टीका नेताहरुले साथ नदिएपछि उहाँ ओलीसँग भेटघाट गरेर एमाले प्रवेश गर्नुभएको समाचार श्रोतले जनाएको छ ।
सरावगीलाई पार्टीमा स्वागत गदै पूर्व प्रधानमन्त्री ओलीले नेकपा एमाले मुद्दा उठाएर, मुद्दा देखाएर मुद्रा कमाउने पार्टी नभएर जनताका वास्तविक समस्यालाई समाधान गर्ने पार्टी भएको दाबी गर्नुभयो ।
नेकपा एमाले पार्टी जनताका सस्म्या समाधान गर्ने पार्टी , जनताका दुःखकष्टलाई सम्बोधन गर्ने, तिनीहरुलाई हटाउने पार्टी भएको जिकिर गर्दै उहाँले एमाले कुनै मुद्दा उठाएर, मुद्दा देखाएर मुद्रा कमाउने पार्टी नभएको दाबी गर्नुभयो । प्रतिपक्षमा भए पनि एमालेमाथि सबैको विश्वास रहेको बताउँदै आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने उहाँले बताउनुभयो । नगरप्रमुख सरावगीले चैत ८ गते पुनः केपी ओलीको उपस्थितिमा वीरगञ्जमा ठूलो संख्यामा जसपालगायतका पार्टी त्यागेर नेताहरुले एमाले प्रवेश गर्ने दाबी गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?