logo
२०८० चैत्र १६ शुक्रवार



चैत दोस्रो सातापछि गठबन्धनबारे निर्णय हुन्छ : महामन्त्री थापा

राजनीति |
प्रदेश |


चैत दोस्रो सातापछि गठबन्धनबारे निर्णय हुन्छ : महामन्त्री थापा


ललित बसेल
सुर्खेत, फागुन २९ गते । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी चैतको दोस्रो सातापछि निर्वाचनमा गठवन्धन गर्ने कि काँग्रेस एक्लै अघि बढ्ने बारेमा पार्टीले निर्णय गर्ने बताउनुभएको छ । पार्टीले गाउँ अभियान थालेकाले गाउँबाट प्राप्त जनमतका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने या नजाने टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।

प्रेस युनियन सुर्खेतले आइतवार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री थापाले निर्वाचनमा तालमेल गर्ने र सरकार गठनमा तालमेल गर्ने भन्ने फरक कुरा भएको बताउनुभयो । पार्टीभित्र निर्वाचनमा एक्लै जानुपर्छ भन्ने आवाज सशक्त रुपमा रहेको भन्दै उहाँले चैतको दोस्रो साता केन्द्रीय बैठक बसेर सो बारे निर्णय लिने जानकारी दिनुभयो ।

जसरी गए पनि काँग्रेस निर्वाचनमा एकमत भएर जाने उहाँले दाबी गर्नुभयो । पूर्व मन्त्रीसमेत रहनुभएका नेता थापाले स्थानीय तहको निर्वाचनमा काँग्रेसले ठूला राष्ट्रिय मुद्दाभन्दा स्थानीय मुद्दालाई बढी जोड दिने तयारी गरेको बताउनुभयो । ठूला मुद्दालाई प्रदेश तथा सङ्घीय निर्वाचनमा जोड दिने र स्थानीय तहको निर्वाचनमा स्थानीय तहका मुद्दालाई प्राथमिकता दिइने उहाँको भनाइ छ । जनताको जीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई स्थानीय तहको निर्वाचनमा आत्मसात् गरेर जाने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

यसैगरी महामन्त्री थापाले एमसीसी पारित गरेर जनतालाई भ्रमित बनाउने प्रवृति उदाङ्गो भएको दावी गर्नुभयो । एमसीसीलाई देखाएर जनतालाई भ्रम छर्ने र त्यसबाट शक्ति आर्जन गर्ने प्रवृत्ति हावी भएकोबेला संसदबाट पास भएपछि त्यस्तो प्रवृत्ति उदाङ्गो बनेको चर्चा गर्नुभयो । एमसीसी संसदबाट पारित भएपछि अब प्रक्रियामा अगाडि बढेकाले यसको पक्ष र विपक्षमा बस्नेहरुले फाइदा वा सजाय भोग्नुपर्ने उहाँको भनाइ छ ।

पार्टीभित्रको आन्तरिक कलहका बारेमा महामन्त्री थापाले वडादेखि केन्द्रसम्म निर्वाचित हुनेहरुले पराजित भएकालाई उचित न्याय र सम्मान दिनुपर्ने बताउनुभयो । पार्टीलाई शतप्रतिशत विधानसम्मत रुपमा सञ्चालन गर्न आफू लाग्ने भन्दै उहाँले जित्नेले कम मत ल्याएकालाई उचित स्थान र न्याय दिन सक्नुपर्ने उल्लेख गर्नुभयो । आफू यस पटकदेखि विगतको भागबण्डाको राजनीति अन्त्य गर्ने प्रक्रियाको सुरुवातमा रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?