प्रकाशविक्रम शाह
धनगढी, फागुन ३० गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्लि इलेक्सनको सम्भावना नभएको बताउनु भएको छ । सोमबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै उहाँले अर्लि इलेक्सन भन्दा पनि स्थानीय तहको चुनावमा आफूहरु केन्द्रित भएको बताउनुभयो ।
उहाँले महाधिवेशनको सन्देश दिन र चुनाव केिन्द्रत अभियान चलाउन माओवादीले देशभर कार्यक्रम गरिरहेको पनि बताउनुभयो । अध्यक्ष प्रचण्डले माओवादीले आफ्नै वलमा चुनाव जित्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै गठवन्धन गरेर चुनावमा जाने विषय दोस्रो प्राथमिकतामा रहेको बताउनुभयो ।
काँग्रेस चुनावी गठवन्धनको पक्षमा छ त ? भन्ने प्रश्नको जवाफमा उहाँले प्रधानमन्त्री गठवन्धन गरेर चुनावमा जानुपर्छ भन्नेमा हुनुहुन्छ, गठवन्धन हुन पनि सक्छ ।
अर्को प्रसंगमा उहाँले सत्तारुढ दलवीच कुनै पनि खालको तिक्तता नरहेको चर्चा पनि गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन र पुर्नगठनका विषयमा गरिएको अर्को प्रश्नमा उहाँले मुख्यमन्त्री तत्काल परिवर्तन नहुँने र काँग्रेसलाई सरकारमा ल्याउनका लागि छलफल भएको उल्लेख गर्नुभयो । सुदूरपश्चिममा एकीकृत नेकपा समाजवादीका धेरै मन्त्री छन् सोही पार्टीबाट केहीलाई त्याग गर्न लगाएर काँग्रेसलाई सरकारमा ल्याउनु पर्ने विषयमा छलफल जारी रहेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।
उहाँले एमसीसीलाई लिएर माओवादीमा भएको विवाद वहस जारी राख्ने गरेर समाधान भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले सो कुरा भनिरहदा साथमा रहेका नारायणकाजी श्रेष्ठ प्रकाश मुस्कुराउनु मएको थियो ।