logo
२०८० चैत्र १६ शुक्रवार



अध्यात्मले सकारात्मक हुन मद्दत गर्छ : काँग्रेस नेतृ देउवा

राजनीति |


अध्यात्मले सकारात्मक हुन मद्दत गर्छ : काँग्रेस नेतृ देउवा


प्रकाशविक्रम शाह

धनगढी, चैत ९ गते। नेपाली काँग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले जीवनको महत्त्व अध्यात्ममा लागेपछि थाहा हुने बताउनुभएको छ। बुधबार धनगढीमा भएको सर्वोदय शान्ति पद यात्राको स्वागत कार्यक्रममा बोल्दै नेतृ देउवाले यस्तो बताउनुभएको हो। ‘अध्यात्ममा लागेपछि नकारात्मक कुरा त्याग्न मद्दत गर्छ’, ‘आफ्ना अनुभव साट्दै उहाँले भन्नुभयो, ‘अध्यात्मले जीवनमा हरेक समस्याबाट जोगिन सहयोग गर्छ। म सात महिना बिमारी भएर जापान बसेँ। भाषाको समस्या भएकाले मसँग कुरा गर्ने कोही थिएनन्। त्यो अवस्थामा अध्यात्मले नै सहज रुपमा उपचार गराउन प्रेरणा दिएको थियो।’

अध्यात्मले मनका सोचलाई नियन्त्रणमा राख्न सहयोग गर्नेसमेत उहाँको अनुभव छ। उहाँले डा. मणिभद्र मुनीजी महाराजको सन्देश, उपदेश, मन्त्रले निक्कै प्रभावित पार्ने उल्लेख गर्नुभयो। मणिभद्र महाराजको तपस्या प्रेरणादायी भएको चर्चा गर्दे नेतृ राणाले भन्नुभयो, ‘४० वर्षदेखि हिँड्दै आउनुभएको छ। ८५ हजार किलोमिटर हिँड्ने उहाँकाे क्षमता र आत्मशक्ति अतुलनीय छ।’

कार्यक्रममा डा. मणिभद्र मुनीजी महाराजले साधनाको माध्याबाट आफूलाई शान्त बनाउने प्रयास गर्नुपर्ने बताउनुभयो। ‘आफू शान्त भएपछि मात्र अरुलाई शान्तिको सन्देश दिन सकिन्छ’, उहाँले भन्नुभयो, ‘दुःखमा कोही पनि आत्तिनु हुन्न, भगवान राम, कृष्ण र महावीरको जीवनमा पनि दुःख आएको थियो।’

कार्यक्रममा पूर्वसांसद शंकर पाण्डे, धनगढीका नगर प्रमुख नृपबहादुर वड, बिपी चिन्तन अन्तर्राष्ट्रिय समितिका सन्दीप रानालगायतले अध्यात्म र डा.मणिभद्र महाराजको बारेमा चर्चा गर्नुभयो। मेचीबाट पैदल यात्रा गरेर नेपाल प्रवेश गर्नुभएका डा.मणिभद्र महाराज एवम् विराज मुनीजी महाराज पोखरा हुँदै धनगढी पुग्नुभएको हो। उहाँहरु अब कञ्चनपुरको गड्डाचौकी हुँदै भारत जानुहुने छ।

नेतृ राणा र डा.मणिभद्र महाराज एवम् विराज मुनीजी महाराजले कार्यक्रम अघि धनगढीमा पनि सर्वोदय शान्ति यात्रा गर्नुभएको थियो। धनगढीमा सर्वोदय शान्ति यात्रा र स्वागत कार्यक्रम सकल जैन समाजले आयोजना गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?