प्रकाशविक्रम शाह
धनगढी, चैत १० गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफूलाई कैलाली मन पर्ने र यहाँका जनताले समेत माया गर्ने भएकोले पार्टीले टिकट दिए यहाँबाटै चुनाव लड्ने बताउनुभएको छ ।
धनगढी (कैलाली निर्वाचन क्षेत्र ५) का जनतासँग म भिजिसकेकी छु त्यसैले यहीँ चुनाव लड्छु बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, पहिले पनि बर्दिया लगायतका ठाउँमा लड्ने प्रचार गरिएको थियो तर मैले धनगढी नै छानेँ ।
एक प्रश्नको जवाफमा उहाँले ०७४ को चुनावमा तीन चार पार्टी मिलेर मलाई हराइएको हो तर पनि मैलै राम्रो (२२ हजार ३२२) मत पाएँ । उहाँले आफूलाई सर्लाहीमा पनि लड्न भनिएको छ तर पार्टीले टिकट दिए धनगढीमै लड्छु ।
पत्रकारको अर्को प्रश्नको जवाफमा नेतृ देउवाले सानातिना मनमुटाव एउटा घर, परिवारबीच हुन्छन् त्यस्तो हुनु सामान्य पनि हो त्यसैले काँग्रेसको आन्तरिक मनमुटाव जनताका वीच चुनावमा प्रकट नहुने विश्वास गर्नुभयो ।
उहाँले काँग्रेसमा गुट, उपगुट नभएको बताउँदै पार्टीको वडादेखि नै भएका आन्तरिक चुनावले काँग्रेस झन् बलियो भएको बताउनुभयो । नेतृ देउवाले ३६४ दिन काँग्रेस हुनेहरु भोट हाल्ने दिन ३६५ आैं दिनमा पनि काँग्रेसलाई भोट हाल्न उहाँले आग्रह गर्नुभयो । काँग्रेसकै नेतृत्वमा ठूलाठूला परिवर्तन भएको दावी गर्दे नेतृ देउवाले सामाजिक, आर्थिक र सूचना प्रविधिको परिवर्तन पनि काँग्रेसकै पालामा भएकोले जनताले् काँग्रेसलाई नै भोट दिनपर्ने बताउनुभयो ।
डा. देउवाले स्थानीय चुनाव हुनेमा पनि ढुक्क रहन आग्रह गर्नुभयो । संविधान अनुसार तोकिएकै समयमा चुनाव हुन्छ चुनाव हुन्न भन्ने हल्लाका पछाडि लाग्नुहुन्न उहाँको भनाइ थियो ।
उहाँले अवको स्थानीय चुनाव संविधान जारी भएपछि बनेका स्थानीय सरकारको मूल्याङ्कन गर्ने चुनाव पनि भएको बताउनुभयो । नेतृ देउवाले अहिले पार्टीले देशभरको खटाएका प्रतिनिधिको समेत मूल्याङ्कनमा काँग्रेसले स्थानीय तहका उम्मेदवार तय गर्ने बताउनुभयो ।
नेतृ देउवाले अहिलेका सत्ता गठबन्धनका दलहरु मिलेरै चुनावमा जाने बताउनुभयो । एमाले विभाजित भएको बेला काँग्रेस एक्लै लड्न किन डराएको भन्ने प्रश्नमा उहाँले भन्नुभयो, एमाले मात्र छैन अरु पार्टी पनि छन्, ०७४ को चुनावले सिकाएको अनुभवले गठबन्धनमा जानैपर्छ । काँग्रेस लोकतान्त्रिक पार्टी हो गठबन्धन गर्ने नगर्ने बारे बहस भएका छन् हामी निर्णय गरेरै गठबन्धन बनाएर चुनावमा जान्छौं ।