काठमाडौं, चैत १३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पूर्वनिर्धारित कार्यतालिका अनुरुप स्थायी कमिटीको बैठक आइतबार दिउँसो ३ बजे बस्दैछ । बैठकमा वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको सन्दर्भमा चुनावी घोषणापत्र तयारी सम्बन्धनमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताउनुभयो ।
स्थायी कमिटीको बैठकमा ४५ जना र अरु आयोगका प्रतिनिधिहरु हुनुहुन्छ । यसअघिको बैठकले गरेका निर्णयहरुको कार्यान्वयनका विषय पनि रहेको उहाँले बताउनुभयो ।
पार्टी सञ्चालनका विभिन्न नियमावली पारित गर्नुपर्ने विषयमा पनि एमाले स्थायी कमिटी बैठकमा छलफल हुनेछ । एमालेको फागुन ९ र १० गतेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरिएको थियो । सो प्रतिवेदनमा थप सुझावको माग भइरहेको पनि उहाँले भन्नुभयो । यसबाहेक समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।