logo
२०८१ मंसिर ७ शुक्रवार



गठबन्धन गरी निर्वाचनमा जानुपर्छ : नेत्री कोइराला

राजनीति |


गठबन्धन गरी निर्वाचनमा जानुपर्छ : नेत्री कोइराला


मोरङ, चैत १६ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएकी नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएकाले हामीहरु स्वार्थी हुनुहुँदैन भन्दै पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुसरण गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले पार्टीको १४ औं महाअधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिमा हराउन आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पार्नुभयो । नेत्री कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?