logo
२०८१ बैशाख २५ मंगलवार



म्याग्दीमा सत्तापक्षका पाँच दलले चुनावी तालमेल गर्ने

राजनीति |


म्याग्दीमा सत्तापक्षका पाँच दलले चुनावी तालमेल गर्ने


अमृतप्रसाद पौडेल

बेनी, चैत २५ गते । हिमाली जिल्ला म्याग्दीमा क्रियाशील सत्तापक्षका पाँच राजनीतिक दलले जिल्लाका छ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’को संयोजकत्वमा काँग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले यस्तो निर्णय गरेको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै स्थानीय तहमा साझा उम्मेदवार बनाएर जाने सहमति पाँच दलले गरेको हो ।

वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेदवारको टुङ्गो लगाइने काँग्रेस म्याग्दीका सचिव हीराबहादुर पुनले जानकारी दिनुभयो । ‘सबै दलको वडा तहबाट रिपोर्ट आएपछि अर्को बैठक बसेर रिपोर्टको आधारमा म्याग्दीका सबै वडा र पालिकाहरुमा साझा उम्मेदवार उठाउने निर्णय भएको छ’, उहाँले भन्नुभयो ।

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्न जिल्ला र पालिकास्तरीय संयन्त्र समेत निर्माण गरेका छन् । बैठकमा माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष छवि विश्वकर्मा र जनता समाजवादी पार्टी (जसपा)बाट देवेन्द्रबहादुर विश्वकर्माको सहभागिता थियो ।

२०७४ सालको निर्वाचनमा म्याग्दी जिल्लामा नेकपा एमालेले दुई गाउँपालिका अध्यक्ष, तीन गाउँपालिकाको उपाध्यक्ष र २३ वटा वडा अध्यक्षमा विजयी भएका थिए । जिल्ला समन्वय समितिको प्रमुख–उपप्रमुखसहित एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष तथा ४५ वटा वडामध्ये १५ वटा वडा अध्यक्षमा काँग्रेस विजयी भएका थिए । माओवादी केन्द्रले गएको निर्वाचनमा पाँच वटा वडा मात्रै जितेको थियो भने दुई वटा वडामा स्वतन्त्र उम्मेदववार विजयी भएको भए पनि उनीहरु पछि माओवादी केन्द्रमै समाहित भएका थिए । गएको निर्वाचनमा स्वतन्त्रबाट विजयी भएका रेशम जुग्जाली अहिले माओवादी केन्द्रका जिल्ला संयोजक हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?