logo
२०८१ बैशाख ७ शुक्रवार



इलाम साहित्यिक महोत्सव असोजमा

प्रदेश |


इलाम साहित्यिक महोत्सव असोजमा


इलाम, भदौ ४ गते ।

पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सदरमुकाममा ‘इलाम साहित्य महोत्सव’ गरिने भएको छ । जिल्लाभित्रका पर्यटकीयस्थलको प्रचारप्रसार र इलामको साहित्यिक प्रवद्र्धनका लागि आउँदो असोज ३ र ४ गते महोत्सव गरिने भएको हो ।

साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाममा पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनःजागरणका लागि महोत्सवले टेवा पु¥याउने साहित्यकारहरुको भनाइ छ । विशेषगरी मोफसलका साहित्यकारलाई ध्यानमा राखेर गरिने महोत्सवमा भारतीय क्षेत्रका साहित्यकारलाई समेत निमन्त्रणा गरिनेछ ।

“हामी साहित्यका माध्यमबाट पर्यटकीय क्षेत्रको चिनारीका लागि महोत्सव आयोजना गर्न लागेका हौँ, यसका लागि हामी छिमेकी देश भारतका सिक्किम, दार्जिलिङलगायतका साहित्यकारलाई पनि ल्याउने प्रयत्नमा छौँ”, महोत्सव आयोजक संस्था इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले भन्नुभयो ।

मुलुक बाहिरका साहित्यकारलाई महोत्सवमा विशेष स्थान दिइने र महोत्सवलाई ‘अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन’का रूपमा चिनाउने प्रयत्न रहने अध्यक्ष थाम्सुहाङको भनाइ छ । इलामका सम्भावना बोकेका तर ‘गुमनाम’मा परेका पर्यटकीय क्षेत्रमा साहित्यकारको भ्रमण गराउने र आउँदा दिनमा पर्यटकको सङ्ख्या बढाउने महोत्सवको उद्देश्य छ ।

महोत्सवमा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा राजनीतिज्ञ योगेश भट्टराई, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता घनश्याम भुसाल र काँग्रेस नेता प्रदीप गिरीको उपस्थिति रहेन छ भने अग्रज साहित्यकार श्रवण मुकारुङ, यज्ञस, वैरागी काइँला (तिलविक्रम नेम्वाङ), गणेश रसिक, युवराज नयाँघरेलगायतको प्रस्तुति रहने जनाइएको छ ।

दुईदिने महोत्सवमा ‘समृद्धि कसको र कसका लागि’, ‘करोड क्लब र अफवाह’, सत्ता कि प्रतिपक्ष, मानकमाथि प्रश्न, किताब किन बिक्न छाड्यो, पछिल्ला साहित्यिक आन्दोलनलगायतका कार्यक्रम राखिने जनाइएको छ । करीब रु २५ लाख लागत अनुमान गरिएको महोत्सवमा ११ सेसनमा कार्यक्रम हुनेछन् । १५० देखि २०० साहित्यकार भित्र्याउने योजना रहेको कार्यक्रममा इलामसम्बन्धी साहित्यिक कृतिलाई बढी मान्यता दिइने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?