logo
२०८१ बैशाख १३ बिहीवार



भाइरल ज्वरोका कारण विद्यालय बन्द   

प्रदेश |


भाइरल ज्वरोका कारण विद्यालय बन्द   


भोजपुर, भदौ ११ गते । भाइरल ज्वरोले विद्यालयका २०२ जना विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ ।

भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका कक्षा मङ्गलबारदेखि ४ दिनका लागि बन्द गरिएको विद्यालयका सहायक प्रधानाध्याक श्रीकृष्ण बोगटीले जानकारी दिनुभयो ।    
    
यसबाहेक स्थानीय षडानन्द माध्यमिक विद्यालय, न्यू समिट बोर्डिङ र सनराइज बोर्डिङ स्कुलका विद्यार्थीमा समेत ज्वरोको असर देखिएको छ ।

भाइरलले विद्यार्थी एकपछि अर्को गर्दै बिरामी हुनथालेपछि पठनपाठन बन्द गर्नुपर्ने बाध्यता भएको सहायक प्रअ बोगटीको भनाइ छ ।

विद्यालयामा केही दिनअघिदेखि शुरु भएको भाइरल ज्वरोले विद्यार्थीसँगै स्थानीयवासीलाई ग्रसित बनाएको छ ।    
    
दैनिकजसो प्राथमिक स्वास्थ्य केन्द्रमा ५० देखि ६० जना र अन्य स्वास्थ्य चौकीमा ३० देखि ४० जनाको हाराहारीमा भाइरलका बिरामी आउने गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गम्भीर किसिमका बिरामीलाई त्यहाँबाट तुम्लिङटार, धरान, विराटनगर पठाइएको छ ।

भाइरल ज्वरोबाट दिङ्लाका अन्य तीन विद्यालयका विद्यार्थीसमेत बिरामी भएको विद्यालयले जनाएको छ ।    

मौसम परिवर्तनसँगै जिल्ला अस्पतालमा दैनिक १५ जनासम्म भाइरलका बिरामीले बहिरङ्ग सेवा लिइरहेको अस्पतालले जनाएको छ ।

दूषित खानेपानी, बदलिँदो मौसम र खानपानमा राम्रो ध्यान नदिँदा भाइरलको बिरामी आउने गरेको जिल्ला अस्पताल भोजपुरका डा शिवजी रिजालले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?