logo
२०८१ मंसिर ११ मंगलवार



स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोले

प्रदेश |


स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोले


दमौली, मङ्सिर ८ गते ।  तनहुँ जिल्लाका स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोलेका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँका स्थानीय तहले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५÷७६ मा सडकको नयाँ ट्र्याक खोलेका हुन् ।
भानु नगरपालिकाले १० किमी नयाँ ट्र्याक खोलेको छ भने ३० किमी सडक ग्राभेल गरेको छ । भीमाद नगरपालिकाले ११ किमी नयाँ ट्र्याक खोलेको छ भने १९ किमी कालोपत्र र तीन किमी सडक ग्राभेल गरेको छ । शुक्लागण्डकी नगरपालिकाले १३।०५ किमी नयाँ ट्र्याक खोलेको छ भने ४।५२ किमी सडक कालोपत्र र २४।६८ किमी सडक ग्राभेल गरेको जनाएको छ । यस अवधिमा नयाँ ट्र्याक नखोलेको व्यास नगरपालिकाले भने ५।५९ किमी सडक कालोपत्र र २३।१० किमी सडक ग्राभेल गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाले १४।५ किमी नयाँ ट्र्याक खोलेको छ भने ०।४ किमी सडक कालोपत्र र ०।४ किमी सडक ग्राभेल गरेको छ । म्याग्दे गाउँपालिकाले चार किमी नयाँ ट्र्याक खोलेको छ भने ३।८ किमी ग्राभेल र ४२ किमी सडकको विस्तार गरेको छ । त्यस्तै देवघाट गाउँपालिकाले २६।५ किमी नयाँ सडकको ट्र्याक खोलेको छ ।
घिरिङ, ऋषिङ र बन्दीपुर गाउँपालिकाले भने यस अवधिमा नयाँ ट्र्याक खोल्न नसकेको बताएका छन् । ऋषिङ गाउँपालिकाले भने चार किमी सडक कालोपत्र र १६८ मिटर सडक ग्राभेल गरेको छ । बन्दीपुर गाउँपालिकाले पनि दुई किमी सडक कालोपत्र गरेको छ ।
म्याग्दे गाउँपालिकाले सात वटै वडामा महत्वपूर्ण सडक पहिचान गरी उक्त सडकमा बाह्रै महिना सवारी सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । साथै चालू आर्थिक वर्षमा चार महत्वपूर्ण सडकखण्डको डिपिआर तयार गरी पक्कीनाला र कालोपत्र शुरु गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । नागिलाका अनुसार नयाँ ट्र्याक खोल्दा अनिवार्यरूपमा सडक छ मिटर हुनुपर्ने मापदण्ड कायम गरिएको छ ।
बढी कर तिर्ने करदातालाई सम्मान
आन्तरिक राजश्व कार्यालय दमौलीले गत आव २०७४÷७५ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । कर सप्ताहको अन्तिम दिन कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी तनहँु, लमजुङ र गोरखाका करदातालाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा तनहुँको रोयल सहकारी संस्था लिमिटेड, लमजुङको ग्लोबल आइएमई लघुवित्त संस्था लिमिटेड र गोरखाको सत्यसाई हार्डवेयर एण्ड सप्लायर्स रहेको छ । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले रोयल सहकारीका अध्यक्ष कृष्णराज पण्डित, ग्लोबल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किरण कुँवर र सत्यसाई हार्डवेयरका सञ्चालक देवमाया मास्केलाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?