गलकोट, पुस २६ गते । जिल्लाको बागलुङ नगरपालिका–६ सिमदेखि वडा नं ७ कालीमाटी पैराबारी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । बागलुङ नगरपालिकाभित्रका वडा कार्यालय जोड्ने सडक कालोपत्र गर्ने योजनाअनुसार गत वर्ष जिल्ला सदरमुकाम हुँदै सिम पुगेको कालोपत्र सडकलाई कालीमाटी जोड्न थालिएको हो ।
बागलुङ बजारदेखि कुडुँले, मालिका, पञ्चकोट हुँदै धम्जा देउराली पुग्ने क्षेत्रीय सडकलाई पालास्थित तितौरेमा जोड्ने गरी कालोपत्रको काम अगाडि बढाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । “तीन वर्षभित्र सबै वडा कार्यालयसम्म कालोपत्र सडक पु¥याउने लक्ष्यसाथ काम थालिएको छ, पक्की सडकपछि नगरबस सञ्चालन हुनेछ् ।” सिम कालीमाटी सडक कालोपत्र भएपछि नगरका १४ मध्ये सात वडा कार्यालयसम्म पक्की सडकको पहुँच पुग्नेछ ।
सिम–कालीमाटी सडकको अहिले १।५ किलोमिटर कालोपत्र, २०० मिटर सडक ढलान गर्न २०७६ जेठ ८ गते फेवा कन्ट्रक्शनले ठेक्का सम्झौता गरी स्तरोन्नति थालेको थियो । यही पुस मसान्तसम्म सडक निर्माण सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले बताउनुभयो ।
शर्माका अनुसार बागलुङ नगरपालिकाको रु एक करोड १८ लाख र गण्डकी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको समपुरक अनुदानको रु एक करोड गरी दुई करोड १८ लाखमा सडक स्तरोन्नति, पक्की नाली, पर्खाल, कल्र्भटलगायका संरचना बनाएर कालोपत्र थालिएको हो । आठ मिटर चौडा सडकमा पाँच मिटर कालोपत्र, १।२ मिटरको पक्की नाली रहनेगरी काम भइरहेको फेवा कन्ट्रक्शनका आधिकारिक प्रतिनिधि राजु पौडेलले बताउनुभयो । पक्की सडकको पहुँच पु¥याउन थालेपछि जिल्ला सदरमुकाम आवतजावत गर्न सहज हुने नगरपालिका–७ का वडाध्यक्ष खजराज पाण्डेयले बताउनुभयो ।