logo
२०८१ मंसिर १३ बिहीवार



निकुञ्ज घुम्दै देशका राजदूत

प्रदेश |


निकुञ्ज घुम्दै देशका राजदूत


चितवन, माघ १३ गते ।  भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । छ देशका राजदूत, युरोपियन युनियनका प्रतिनिधि, विश्व बैंक एशियाका प्रमुख लगायतका विशिष्ट आज यहाँ आउँदै हुनुहुन्छ ।
वाग्मती प्रदेश र भ्रमण वर्ष सन् २०२० प्रदेशस्तरीय प्रवद्र्धन समितिले राजदूत र विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेको हो । प्रवद्र्धन समितिका सहसंयोजक अनिल लामाले श्रीलङ्का, मलेसिया, अष्ट्रेलिया, भारत, रुस र बेलायतका राजदूतलाई यहाँ घुमाइने र पर्यटकीय गतिविधिका बारेमा अवगत गराइने जानकारी दिनुभयो ।
उहाँका अनुसार विशिष्ट पाहुनालाई निकुञ्जभित्र जङ्गल सफारीसँगै सौराहामा हात्तीका फुटबल, पोलोलगायतका गतिविधि, साँझ रात्रिकालीन भोजसहितको सांस्कृतिक कार्यक्रममा सहभागी गराउन लागिएको छ ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार प्रदेश सरकारसँगै जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, सौराहाका मध्यवर्ती सामुदायिक वन, सौराहाका होटल र रेष्टुराँको सहयोगमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा २१ देशका राजदूत सहभागी हुने योजना भएको भए पनि प्राविधिक कारणले सबै देशका राजदूत उपस्थित गराउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

गत साता बेल्जियमकी राजकुमारी एष्ट्रिडले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुभएको थियो । भ्रमण वर्षमा विभिन्न देशका राजदूत र विशिष्ट पाहुनालाई भ्रमण गराउन सकेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुने अपेक्षा लिइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?