बागलुङ, माघ १४ गते । यहाँको ऐतिहासिक दुई पर्यटकीय गन्तव्यस्थललाई जोड्न करीब डेढ किमी पदमार्गको निर्माण कार्य शुरु गरिएको छ ।
गलकोट नगरपालिका–७ मल्मस्थित ऐतिहासिक सिद्धेश्वर शिवालय मन्दिर र वडा नं ९ को पाण्डुकेशरी गुफाबीचको आउजाउ सहज बनाउन पदमार्गको निर्माण शुरु गरिएको हो । करीब डेढ किमी दूरीको पदमार्ग निर्माण यही वर्ष सक्ने लक्ष्य लिइएको छ । व्यवस्थित पदमार्गका लागि वडा नं ७ बाट गत आव र चालू आवमा गरी रु चार लाख बजेट छुट्टयाएको छ । पदमार्ग निर्माण गर्दा २० प्रतिशत जनश्रमदानसमेत गर्ने बताइएको छ ।
“अघिल्लो वर्ष ५०० मिटर पदमार्ग बनायौँ, बाँकी काम यो वर्ष पूरा हुन्छ”, सिद्धेश्वर शिवालय सेवा समितिका अध्यक्ष ज्ञानबहादुर थापाले भन्नुभयो । साँघुरो र जीर्ण बनेको घोढेटो बाटोलाई स्तर सुधार गरी पदमार्ग बनाइएको उहाँको भनाइ छ । धार्मिक र पर्यटकीय महत्वका दुई गन्तव्यस्थल जोड्ने गरी पदमार्ग बनाउन स्थानीयवासीले पहल गरेका थिए । विसं १८१० मा बनेको मन्दिर र विसं २०४२ तिर फेला परेको गुफालाई जोडेर अन्य पर्यटकीय पूर्वाधार निर्माणको कामसमेत अघि बढाइने योजना समितिको छ ।
“गुफा परिसरमा उद्यान, वनभोजस्थललगायतका संरचना बनाउने योजना छ”, समितिका अध्यक्ष थापाले भन्नुभयो, “गुफादेखि माथि टिम्लेचौरस्थित माईको मन्दिर पुनःनिर्माण गरिने योजनाका साथ समिति अगाडि बढेको छ ।”
वडा नं ९ को रु पाँच लाख बजेटमा दुई वर्षअघि बाँस्खोलादेखि गुफासम्म दुई किमी पदमार्ग निर्माण भइसकेको छ । गत आवमा रु एक लाख बजेटमा गुफामा ‘रेलिङ’ राख्ने काम गरिएको वडाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । सीमाक्षेत्रमा पर्ने हुँदा गुफाको संरक्षणमा दुवै वडाले लगानी गरेका छन् ।
गुफा र मन्दिरबीच वर्षौँ पुरानो सम्बन्ध छ । बालाचुर्तदशी पर्वमा मन्दिरदेखि सतबीज छर्दै गुफा पुग्ने र पूजाआजा गर्ने चलन छ । उक्त पर्वमा गुफामा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ । घाँसदाउरा गर्ने क्रममा गाउँलेले विसं २०४२ मा गुफा फेला पारेका थिए । गुफाभित्रको पत्थरमा विभिन्न देवीदेउता र नागका आकृति छन् । गाईका थुनजस्ता देखिने आकृतिबाट बाह्रैमास पानीका धारा चुहिने गर्छन् । गुफा छिर्ने भक्तजन बढ्दै जाँदा धारा पनि बढ्ने गरेको बताइन्छ । गुफाको भुइँतलामा ससाना जलकुण्डसमेत छन् । माथिल्लो तला भने सुक्खा छ ।
भ¥याङ र कृत्रिम प्रकाशको सहायताले मात्र गुफाको उपल्लो तलामा पुग्न सकिन्छ । एक सय जनाले एकैसाथ गुफाको अवलोकन र पूजाआजा गर्न सकिने वडा नं ९ का अध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । मानिसले कुँदेका जस्ता देखिने विभिन्न अलौकिक आकृतिले गुफा पुग्नेलाई आकर्षित गर्ने गर्छ । “धार्मिक महत्वसँगै गुफा क्षेत्र प्राकृतिक हिसाबले पनि रमणीय छ”, वडाध्यक्ष थापाले भन्नुभयो, “गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक छ ।” शिवालय मन्दिरको पनि पुनःनिर्माणसहित बृहत्तर विकास योजना अघि बढाइएको छ । संरक्षण नहुँदा मन्दिरको अस्तित्व नासिने खतरा थियो ।
मन्दिरसहित धर्मशाला, शिवलिङ्ग मण्डप, सभाकक्षलगायतका संरचना बनाइने समितिले जनाएको छ । पूर्वाधार तयारीका लागि जग्गा÷घडेरी सम्याउने काम सकिएको छ । एक सय आठ शिवलिङ्गका मूर्ति प्रतिस्थापनका लागि काम शुरु भएको छ । शिवलिङ्गसहित द्वादश रुद्र, एकादश रुद्र, गणेश, हनुमान, नवग्रहको समेत गरी कूल १३८ मूर्ति राखिने जनाइएको छ ।
झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदशी पर्वमा ठूलो मेला लाग्ने गर्छ । विशेष पर्वबाहेक मन्दिरमा दैनिक पूजाआजासमेत हुने गरेको छ ।