राजविराज, माघ २२ गते । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी साविक जमुनिमधेपुरा गाविस–९ हाल रुपनी गाउँपालिका–४ का २५ वर्षीय शत्रुधन साह र साहकी कान्छी श्रीमती २० वर्षीया सजनीकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुपनी गाउँपालिका–४ का ३० वर्षीया प्रमिलाकुमारी साहले दिएको जाहेरीको आधारमा बहुविवाह मुद्दाका फरार अरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विद्युत् चोरीको आरोपमा २४ पक्राउ
सप्तरीमा विद्युत् चोरी गरेको आरोपमा २४ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त टोलीले विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
टोलीले जिल्लाको बोदेबरसाइन क्षेत्रबाट १६ र राजगढ गाउँपालिकाबाट आठ गरी २४ जनालाई विद्युत् चोरीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका २४ जनालाई विद्युत् चुहावट नियन्त्रण विनियमावली, २०५९ अनुसार हानी नोक्सानी एवं क्षतिपूर्ति दाखिला गराई छाडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।