logo
२०८१ माघ ९ बुधवार



सुदूरपश्चिमबाट रगत नमूना पठाउन समस्या

प्रदेश |


सुदूरपश्चिमबाट रगत नमूना पठाउन समस्या


भीमदत्तनगर, चैत १२ गते । कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडाँै पठाउन समस्या भएको छ । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म परीक्षणका लागि काठमाडौँ १४ रगत नमूना पठाइसकेको जानकारी दिएको छ ।

“लकडाउनअघि पठाएकामध्ये नौ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ”, प्रयोगशालाका ल्याव टेक्निसियन तथा कोभिड–१९ का फोकलपर्सन रामप्रसाद ओझाले भन्नुभयो, “अहिलेसम्म कञ्चनपुरबाट पठाइएको एउटा नमूना प्रदेश प्रयोगशालामा छ ।” कोराना भाइरसकै लक्षणसित मिल्दोजुल्दो लक्षण देखिएपछि कैलालीबाट सात, बाजुराबाट चार र कञ्चनपुरबाट तीन वटा रगत नमूना प्रदेशमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

“कञ्चनपुरबाट पठाइएकामध्ये शनिबार पठाएको दुई नमूनाको रिपोर्ट पनि काठमाडौँबाट आउन बाँकी छ”, ओझाले भन्नुभयो, “होल्डमा रहेको नमूना पनि आज एम्बुलेन्स वा कसरी पठाउने भन्ने विषयमा गृहकार्य हुँदैछ ।” उहाँले कैलाली र बाजुराबाट पठाएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

“जिल्ला अस्पतालबाट आउने रगत नमूना हामीले केन्द्रमा पठाउने हो”, उहाँले भन्नुभयो, “लकडाउनले जहाज र यातायात नचल्दा केही समस्या भने भएको भए पनि निराकरणको प्रयास हँुदैछ ।” कोराना भाइरस सङ्क्रमण भएको थाहा पाउने राष्ट्रिय प्रयोगशाला टेकुमा मात्रै छ ।

काठमाडौँ बाहिर सो स्तरको सुविधा भएको प्रयोगशाला नहुँदा मुलुकभरबाट काठमाडौँ नै रगत नमूना पठाइँदैछ । रगत नमूनाको रिपोर्ट नआउँदा भीमदत्तनगरस्थित महाकाली अस्पतालमा तीन पुरुष बिरामीलाई आइसोलेसन कक्षमा राखिएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपीई वितरण गरेको छ । प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपीई) उपलब्ध गराइएको हो ।

मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई चार थान पिपीई उपलब्ध गराएको थियो । भीमदत्तनगरस्थित महाकाली अस्पतालका मेडिकल स्टोर किपर तिलकराज ओझाले अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपीई र मास्क अभाव नरहेको बताउनुभयो । अस्पतालमा ६ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने यहाँको सीएम छात्रावासमा १०० श्ययाको क्वारेन्टाइन नेपाली सेनाले निर्माण गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?