दैलेख, चैत १४ गते । कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने आशङ्कामा अहिले सबै पालिकाले भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिको खोजी शुरु गरेका छन् । भेटिएका सबैलाई आफ्नै घरमा सुरक्षित बस्न आग्रह गर्दै पायक पर्ने स्वास्थ्यकर्मीको निगरानीमा राखिएको भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताउनुभयो ।
अहिलेसम्म नारायण नगरपालिकामा १२५, भगवतीमाई गाउँपालिकामा ३५, डुङ्गेश्वर गाउँपालिकामा ५०, आठबीस नगरपालिकामा १५०जना भारतबाट आएकाहरुको पहिचान भइसकेको र सबैलाई
घरमै निगरानीमा राखिएको छ । दैलेखका तीन लाख जनसङ्ख्यामध्ये धेरैजसो मानिस कामको खोजीमा भारत जानुपर्ने बाध्यता छ । विशेष गरेर चैतेदशैँ मनाउन पनि जिल्ला फर्कने चलन छ ।
दैलेखमा ११ स्थानीय सरकारमध्ये गुराँस र नौमूले गाउँपालिकामा दुई आइआर थर्मोमिटर छन् । अन्य कुनै पनि स्थानमा आइआर थर्मोमिटर नभएका कारण ज्वरो आएका र लक्षण देखिएका बिरामीलाई जाँच गर्न स्वास्थ्यकर्मीले नमानेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निरञ्जन पन्थले बताउनुभयो ।
उहाँले स्वास्थ्य कार्यालयमै पुग्नेलाई भने अर्को विधिबाट जाँच गरिएको छ । सङ्क्रमणकोे आशङ्का लागेर क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएकाहरुको उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षित कपडा नभएपछि दैलेख स्वास्थ्य कार्यालयले २५ थान पिपिई आफैँ तयार गरेर स्वास्थ्य जाँच शुरु गरेको छ । केही मात्रामा पञ्जा आए पनि अन्य पोशाक नआएका कारण आफैँले तयार गरेको डा पन्थले जानकारी दिनुभयो ।
दैलेखका ११ स्थानीय तहमा करीब पाँच सय थान पिपिई जरुरी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सदरमुकामको नारायण क्याम्पसमा क्वारेन्टाइन निर्माण थालिएको भएपनि यसको पुर्ण व्यस्थापन अझै हुन सकेको छैन । स्वास्थ्य कार्यालयमा नौ आइसुलेशन शय्या र तीन हाइ केयर युनिट भने तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य कार्यालयले ज्वरो नाप्ने छुट्टै कक्ष निर्माण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखमा १५ , इन्द्रदल गुल्ममा आठ र सशस्त्र प्रहरी बल गुल्ममा दुई कक्ष निर्माण भइसकेका छन् । विभिन्न पालिकामा पनि तीव्र रुपमा क्वारेन्टाइन निर्माण थालिएको छ ।