logo
२०८१ माघ ९ बुधवार



पाँचथरमा पिपिई र फायरगन अभाव

प्रदेश |


पाँचथरमा पिपिई र फायरगन अभाव


रवीन्द्र काफ्ले

फिदिम, चैत १५ गते । पाँचथरमा कोभिड–१९ (कोरोनाभाइरस) सङ्क्रमितको स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) तथा फायरगनको अभाव भएको छ । स्वास्थ्य कार्यालयका अनुसार प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले पाँचथरका लागि आठ थान पिपिई उपलब्ध गराएको छ ।


कोभिड–१९ का शङ्कास्पदको जाँच तथा सिफारिशका लागि उक्त सङ्ख्या अपुग रहेको स्वास्थ्य कार्यालयका प्रमुख नारदमुनि सुवेदीले वताउनुभयो । “कोभिड–१९ का शङ्कास्पद बिरामीको जाँच हुने जिल्ला अस्पताल र समर्पित अस्पताल तथा एम्बुलेन्स चालकलाई प्राप्त भएको पिपिई उपलब्ध गराइएको छ”, सुवेदीले भन्नुभयो, “जिल्लामै यो अभाव भएको छ । स्थानीय तहले कसरी प्राप्त गर्ने ?”
यस्तै कोभिड–१९ का शङ्कास्पद बिरामीको चाँडो तापक्रम मापन गर्ने यन्त्र (फायर गन) समेत अभाव छ । स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीका अनुसार जिल्लामा दुई थान फायरगन उपलब्ध छ । धेरै शङ्कास्पद बिरामी आएको अवस्थामा उक्त यन्त्रले राम्रोसँग काम नगर्ने सुवेदीको भनाइ छ । “पिपिई र फायरगन स्थानीय तह आफैँले व्यवस्थापन गर्ने हो”, सुवेदीले भन्नुभयो, “सरकारी अस्पतालले पर्याप्त नपाइरहेको अवस्थामा निजी अस्पतालले पाउने कुरा भएन ।”
जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा चीनबाट ती सामग्री ल्याइएपछि जिल्लामा उपलब्ध हुने वचन पाएको बताउनुहुन्छ । “आज(शनिबार) चीनबाट ल्याइँदैछ भन्ने सुनेका छौँ”, सापकोटाले भन्नुभयो, “अहिले पिपिई जस्तै रेनकोटको प्रयोग गर्ने भनेका छौँ ।” झापामा उत्पादित उक्त सामग्री प्रयोगमा ल्याइएको हो । चीनबाट ल्याइने उपकरण जिल्ला तथा स्थानीय तहस्तरमा आइपुग्ने सापकोटाको विश्वास छ ।
२०८ क्वारेन्टाइन तयार
पाँचथरमा सदरमुकाम फिदिमसहित सात गाउँपालिकामा २०८ क्वारेन्टाइन तयार पारिएको छ । फिदिम बजारभित्र ७० तथा बाँकी गाउँपालिकाका केन्द्रमा तयार पारिएका हुन् । जिल्ला अस्पतालमा सात शय्याको आइसोलेशन कक्षसमेत तयार भएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले वताउनुभयो ।
दुई आइसोलेशनमा, सात क्वारेन्टाइनमा
पाँचथरमा हालसम्म कोभिड–१९ का दुई शङ्कास्पद बिरामीलाई आइसोलेशनमा भर्ना गरिएको छ । उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको हो । यस्तै कोभिड–१९ सङ्क्रमित युवतीसँगै यही चैत ६ गते एयर अरेबियाको उडानबाट नेपाल आएका दुई तथा हालै विदेशबाट नेपाल आएका दुई गरी चार जनालाई मोरङको मिक्लाजुङमा रहेको क्वारेन्टाइनमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले वताउनुभयो । यस्तै जिल्लाको हिलिहाङ गाउँपालिकाले हालै विदेशबाट फर्किएका तीन जनालाई गोपेटारस्थित क्वारेन्टाइनमा राखेको छ ।
चैतमा विदेशबाट आएका क्वारेन्टाइनमा
सोमबार बसेको सर्वपक्षीय बैठकले चैतमा भारतसहित विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । “स्थानीय तहहरुलाई दुई हप्ताभित्र विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन गर्न भनिएको थियो । एक सय २९ जनाको विवरण प्राप्त भएको छ”, सहायक प्रजिअ न्यौपानेले भन्नुभयो, “सबैको निरन्तर खोजी एवम् पहिचान हुन्छ । सबैलाई क्वारेन्टाइनमा राखिन्छ ।” जिल्ला समन्वय समितिका प्रमुख सापकोटाका अनुसार बैठकले विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने तथा तिनको सम्पर्कमा रहेका तथा परिवारलाई होम क्वारेन्टाइनमा राख्न सके सम्भावित सङ्क्रमण कम हुने बैठकले निष्कर्ष निकालेको हो । “शनिबारदेखि सबैलाई क्वारेन्टाइनमा राखिन्छ र विदेशबाट आएका अरुको पनि खोजी हुन्छ”, सापकोटाले भन्नुभयो ।

त्फिक्चुखोलाद्वारा कृषकलाई एकसाथ सेवा र सचेतना

कोरोना भाइरसको सङ्क्रमण रोक्न मुलुक लकडाउन गरिएका बेला फिक्चुखोला कृषि सहकारी संस्था लिमिटेडले कृषकलाई एकसाथ सेवा र सचेतना प्रदान गरिरहेको छ । लकडाउन भए पनि सहकारीले कृषकबाट उत्पादित दूध सङ्कलन गरिरहेको छ । दूध सङ्कलनका क्रममा सहकारीले सबै कृषकलाई सामाजिक दूरी कायम राख्न सिकाएको छ । दूध बिक्रीका क्रममा भीडभाड हुन नदिन तथा ग्रामीणस्तरमा समेत दूरी कायम गरेर दैनिक कामकाज अघि बढाउन कृषकलाई प्रेरित गर्न सहकारीले दूरी कायम गर्ने प्रबन्ध गरेको हो । फाल्गुनन्द गाउँपालिका वडा नं १ नवमीडाँडाका कृषकलाई दूध बिक्रीका क्रममा दूरी कायम गर्ने सचेतना दिइएको सहकारीका सचिव राजेन्द्र आङ्देम्बेले वताउनुभयो । उक्त सहकारीले सहकारीका सदस्यमा सचेतनासहित मास्क वितरण गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?