logo
२०८१ माघ ९ बुधवार



सङ्क्रमणको जोखिम बढेपछि रङ्गशालामा हटिया

प्रदेश |


सङ्क्रमणको जोखिम बढेपछि रङ्गशालामा हटिया


सप्तरी, चैत १५  गते । राजविराज नगरपालिका–७ स्थित गुदरी हटिया लाग्ने हाटबजार आजबाट राजविराजको रङ्गशालामा सञ्चालन भएको छ ।

राजविराज नगरपालिकाको निर्णयबमोजिम आवश्यक तयारी गरेर फराकिलो रहेको रङ्गशाला खेल मैदानमा तरकारी हाटबजार सञ्चालन गरिएको नगर प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।

सङ्क्रमणको जोखिम बढेपछि प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्मका लागि सामाजिक दूरी कायम हुने गरी फराकिलो रहेको खेलमैदानमा तरकारी हटिया सञ्चालन गरिएको हो । रङ्गशालास्थित खेलकुद मैदानमा तरकारी व्यापारीबीच तीन मिटर र ग्राहकबीच दुई मिटरको दूरी कायम गरी घेरा चिह्नभित्र बसेर तरकारी खरिद बिक्री गर्नुपर्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिनुभयो ।

लकडाउन भएपछि बिहान तीन घण्टा खुल्ने गरेको तरकारी हटियामा हुने भीडभाडले सङ्क्रमणको जोखिम बढेको जनगुनासोपछि राजविराजको हाट रङ्गशालामा सारिएको हो ।

यसैगरी राजविराज नगरपालिकाका १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्न नगरपालिकाले स्थानको खोजी शुरु गरेको छ । नगर प्रमुख यादवका अनुसार सबै वडाध्यक्षलाई आ–आफ्नो वडाको फराकिलो स्थानमा हाट सञ्चालन गर्न दिएको निर्देशनानुसार १० स्थानको पहिचान भइसकेको छ ।

यसैगरी लकडाउन अवधिभर दैनिक उपभोग्य खाद्यान्न वस्तु घर घरमा पु¥याउन आजबाट अनलाइन पसल सञ्चालन हुनेभएको छ । खाद्यान्न सामग्री घर घरमा पु¥याउन स्थानीय रमेश किराना पसल र निर्मल किराना पसललाई नगरपालिकाले जिम्मा दिने निर्णय गरेको नगर प्रमुख यादवले जानकारी दिनुभयो ।

नगरपालिकाले आज अपराह्न कोरोना भाइरस र अन्य किटाणुविरुद्धको कीटनाशक औषधि छर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?