कास्की, चैत १५ गते । गण्डकी प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरेको उपचार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
सभामुख नेत्रनाथ अधिकारी र उपसभामुख सिर्जना शर्माले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा पारिश्रमिक जम्मा गर्न सचिवालयलाई निर्देशन दिएको उपसभामुख शर्माले राससलाई जानकारी दिनुभयो ।
उहाँले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि सजग र सतर्क हुँदै सरकारी तथा निजी सबै क्षेत्रले आ–आफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरे तथा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा भीमा ढुङ्गानाले पनि आफ्नो एक महिनाको पारिश्रमिक प्रदेश सरकारले स्थापना गरेको सो कोषमा प्रदान गर्नुहुने भएको छ ।
कोइरालाद्वारा १५ दिनको तलब सहयोग गर्ने घोषणा
गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा १५ दिनको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
प्रदेश सरकारको बुधबार बसेको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न गण्डकी प्रदेशमा रु १५ करोडको कोष स्थापना गर्ने घोषणासँगै सभापति कोइरालाले आफ्नो १५ दिनको तलब बराबर रु २८ हजार ४२० सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरानाको रोकथामका लागि सबैले आ–आफ्नो स्थानबाट हातेमालो गर्न आवश्यक रहेको बताउनुभएको छ । कोरोना सङ्क्रमणको रोकथामका लागि सरकारले मुलुकभर गरेको लकडाउनको पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह गर्दै उहाँले अनावश्यक काममा घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।
जनताको सुखदुःखमा आप्mनो साथ रहने विश्वास व्यक्त गर्दै उहाँले कोही रोजगारी वा वैदेशिक यात्राबाट नेपाल फर्केको भए आफ्नै घरमा भए पनि १४ दिनसम्म सेल्फक्वारेन्टाइनमा बस्न अनुरोध गर्नुभएको छ ।
सिद्धार्थ बैंकबाट रु दश लाख सहयोग
प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा सिद्वार्थ बैंंकले आज रु १० लाख जम्मा गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख अमित श्रेष्ठले सो रकमबराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले देशका सात वटै प्रदेशमा रु १० लाखका दरले सहयोग गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारको चैत १२ गतेको मन्त्रिपरिषद् बैठकले सो कोष स्थापना गर्ने निर्णय गरेपछि अहिले विभिन्न व्यक्ति तथा निजी सङ्घसंस्थाबाट समेत रकम जम्मा गर्ने क्रम शुरु भएको छ ।
प्रदेश सरकारले शुक्रबार सार्वजनिक सूचना जारी राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखामा ‘कोरोना भाइरस नियन्त्रण र उपचार कोष’का नाममा खोलिएको खाता नं ३०२००१८८३०१ मा इच्छुक व्यक्ति तथा संस्थालाई रकम जम्मा गर्न आह्वान गरेको थियो ।
खाद्यान्न वितरण सहज बनाइने
पोखरा महानगरपालिका–४ ले लकडाउनको समयमा वडावासीलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध गराउन पहल शुरु गरेको छ ।
वडाध्यक्ष शङ्कर बाँस्तोलाको अध्यक्षतमा आज बसेको बैठकले वडामा रहेका गोपालजी, विनायक, मुनाल, सेलवेज र पोखरा ग्रोसरी खाद्य स्टोर्समा समन्वय गरी वडावासीलाई लकडाउनको समयमा समेत सहज खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यसैगरी अव्यवस्थित बस्ती तथा दैनिक ज्यालादारी गरी बस्ने समुदायमा खाद्यान्नलाई सहज उपलब्ध गराउनका लागि पहल गर्ने निर्णयसमेत गरिएको वडाध्यक्ष बास्तोलाले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण न्यूनीकरणका लागि भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको विवरण सङ्कलन गर्नका लागि चारजना वडा सदस्य र वडा सचिवलाई भेग मिलाएर जिम्मेवारी तोकिएको छ ।
अहिलेसम्म पाँचजना विदेशबाट आएको विवरण सङ्कलन भएको र उनीहरुको अवस्था हेरी क्वारेन्टाइनमा राख्नका लागि वडाले पहल गर्ने भएको छ ।